काठमाडौं । प्रतिनिधिसभा बैठकमा राप्रपा र माओवादी केन्द्रका सचेतकबीच दोहोरी चलेको छ ।
बिहिवार आकस्मिक समय लिएर बोलेका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका जनाएका हुन् । शाहीले कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागू गरिएको अभिव्यक्ति दिएका थिए ।
उनले भने,‘ संघीयता, प्रदेश दुईवटा कारणले चाहिन्छ । एउटा पहिचानको लागि अर्को देश ठूलो भयो भने केन्द्रीकरण गर्न चाहिन्छ । तर आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्न कँही नअटाएका कार्यकर्ता सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन । यसको पहिलेको र अहिलेको प्रधानमन्त्रीले जवाफ दिनै पर्छ ।’
लगत्तै माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले शाहीको अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै नियमापत्ति जनाए ।
उनले भने ‘आकस्मिक समय हो यो । माननीय ज्यूले अहिले राखेको यो विषयवस्तु के आकस्मिक समयसँग सम्बन्धित छ ? नियमावली हामी आज नै सुरु गर्दै छौं । यो विषयवस्तु नियमावली संगत छैन । यस कारण नियमापत्ति गर्न चाहन्छु ।’
बिहीवारबाट सांसदहरूको लागि तीन मिनेटको आकस्मिक समय लागू गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।
प्रतिक्रिया