×

सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्न माग

images

ओमकार परिवारका विभिन्न सङ्घ संस्थाले जनताको भावनाअनुसार नेपाललाई सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्न माग गरेका छन् । ओमकार परिवारले आज यहाँ आयोजना गरेको वैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रमका वक्ताले हिन्दू राष्ट्रको उद्देश्य बोकेका राजनीतिक दल एक हुनुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा पूर्वमन्त्री डा कान्ता भट्टराईले काठमाडौँ नेपालको सांस्कृतिक सहर भएकाले यहाँको मूर्त र अमूर्त संस्कृति महानगरको मौलिकता भएकाले यसको संरक्षण गर्ने नेतृत्व स्थानीय तह निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताउनुभयो । 

सांस्कृतिक सहर काठमाडौँको पहिचान पछिल्लो समय मेटिन थालेकाले सहीरुपमा यसको संरक्षण गर्ने नेतृत्व छनोट गर्न उहाँले काठमाडौँका मतदातासँग अनुरोध गर्नुभयो । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठले काठमाडौँका मठमन्दिर, कला, संस्कृति समाप्त गर्ने प्रयास भइरहेकाले संरक्षणको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । 

भारत एवं अन्य देशका पुराना सहरलाई पुरानै नाममा पुनस्र्थापित गरिएको उदाहरण पेश गर्नुहुँदै कलाकारसमेत रहनुभएका श्रेष्ठले काठमाडौँको नाम कान्तिपुर बनाइने प्रतिबद्धता जनाउनुभयो । ठूला दलले महानगर जित्दा फोहर व्यवस्थापन गर्न नसकेकाले आफूले दिगो समाधानका लागि उम्मेद्वारी दिएर अघि बढेको उहाँको भनाइ थियो । 

राप्रपाका महामन्त्री भुवन पाठकले संविधान निर्माणअघि जनताले दिएको सुझाव थन्क्याएर नेपाललाई धर्मनिरपेक्ष बनाउँदा धेरै समस्या आएकाले समाधानका लागि जनताको सुझाव बमोजिम सनातन हिन्दू राष्ट्र कायम गर्न माग गर्नुभयो । कार्यक्रममा विश्व हिन्दू महासङ्घका अस्मिता भण्डारीले पशुपति क्षेत्रको श्लेषमान्तक वन परिसरमा क्रिश्चियन समुदायले शव गाड्ने गरेकोप्रति आपत्ति जनाउँदै अर्को समुदायको धार्मिक धरोहरमाथिको यो आक्रमण तत्काल रोक्न माग गर्नुभयो । महासङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठलाई जिताउन ओमकार परिवारभित्रका सबै धार्मिक समुदाय जुट्ने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा राप्रपाका नेता राजाराम श्रेष्ठ, श्रीकृष्ण प्रणामी सेवा समितिका पूर्वअध्यक्ष श्याम केसीलगायतले विश्वका धेरै देश धर्मसापेक्ष रहेको उल्लेख गर्नुहुँदै विश्वको एकमात्र हिन्दू राष्ट्र«को नेपालको पहिचान हट्नु दुःखद् रहेको बताउनुभयो । ---

बिहीबार २२ बैशाख २०७९ ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया