×

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निर्णय गरेको थियो । सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्राचार गरिएको थियो ।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ ।

सो विषयमा टुङ्गो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । 

आइतबार​ २१ फागुन २०७९ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया