×

स्ववियु चुनावको तयारीमा लाग्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीलाई स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै स्ववियु चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीका अनुसार प्रचण्डले सरकार जनमुखी हुने प्रयासमा लागि रहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका थिए ।

प्रचण्डले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने लक्ष्य रहेको भन्दै गलत काम र प्रवृत्तिको आलोचना गर्नुपर्ने बताए । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ । यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ । प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरुलाई सहमतिमा ल्याउनुपर्ने बताए ।

यस्तै क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रचण्डले संगठनमा असन्तुष्ट रहेको पक्षलाई समेत सहमतिमा ल्याएर अघि बढ्नु पर्ने बताएका छन् । संगठनका समस्याहरु समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रचण्डले निर्देशन दिएको उपाध्यक्ष मैनालीले बताए ।
 

बिहीबार २१ पुस २०७९ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया