×

संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी: डा. बाबुराम भट्टराई

images

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् । गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

साथै     पूर्व प्रधानमन्त्री  भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे । 

गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौँ । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरू तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ ।’

‘६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन । जनताका आकांक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ । मङ्सिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिन्छ,’ उनले थपे, ‘अग्रगामी शक्तिलाई स्थापित गर्छ । त्यसअर्थमा हाम्रो सहकार्य हो । अहिलेसम्म यसको जरो त राम्रोसँग गडेकै रहेनछ । जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्यूनतम् आधार तयार हुँदैन त्यति बेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ ।’

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुसियाली भएको दाबी गरे । समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणी भूमिका खेल्ने बताए । उनले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’

बिहीबार १७ कात्तिक २०७९ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया