×

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ

images


गल्याङ (स्याङ्जा), १६ असोज ः स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नैपर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिनुभयो ।

      उहाँले आवश्यक शैक्षिक सामग्री, प्रयोगशाला, ल्याब, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, स्मार्ट बोर्डसहित व्यवस्थापन गरिएको विषय शिक्षकको कार्यकक्षमा विद्यार्थी अध्ययनका लागि जाने गरेको बताउनुभयो । प्रधानाध्यापक न्यौपानेले एकदेखि कक्षा तीनसम्म ग्रेडिङ प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप भएको भन्दै चारदेखि कक्षा १० सम्म प्रविधिको उच्चतम प्रयोगसहित शिक्षण सिकाइ क्रियाकला सञ्चालन भएको बताउनुभयो ।

      “हामीसँग पर्याप्त कक्षा कोठा भएकाले सबै विषय शिक्षकको प्रविधि जडित आवश्यकताअनुसार प्रयोगशाला र शैक्षिक सामग्री राखेर आ–आफ्नै कार्यकक्ष बनाइएको छ”, उहाँले भन्नुुभयो, “चार कक्षा देखि १० कक्षा सम्मका सबै विद्यार्थी घण्टीअनुुसार विषय शिक्षककहाँ गएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।”

    शान्त वातावरण, रमणीय दृश्य, उचित खेलमैदान, शुद्ध पिउनेपानी, शौचालयको राम्रो व्यवस्था र प्रविधिको अधिकतम प्रयोगले विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ । उहाँले यो विद्यालयमा गत आर्थिक वर्षमा ‘आइसिटी कार्यक्रम’ योजनाका लागि छनोट भएर कार्यक्रम लागू भएको बताउनुुभयो । यो विद्यालय ५६ वर्ष पुुरानो हो भने यहाँ हाल १८ शिक्षक तथा कर्मचारी कार्यरत छन् । एक सय ४० विद्यार्थी अध्यनरत यस विद्यालयमा चार हजार पुस्तकसहितको पुस्तकालयसमेत छ । 

      सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा तुलसी तिवारीले विद्यालयमा नयाँ शिक्षण सिकाइ पद्धति सुरुआत भएपछि आफुलाई पढाइप्रति जाँगर चल्दै गएको बताउनुभयो । उहाँले आफूले नजानेका विषयवस्तु शिक्षककै कार्यकक्षमा बसेर कम्प्युटरमा खोज्न पाउँदा ऊर्जा मिल्ने गरेको बताउनुभयो । “गणित विषयको सन्दर्भ सामग्री पर्याप्त छैन, त्यसलाई बढाए हामीलाई सहज हुने थियो”, तिवारीले भन्नुुभयो, “साना कक्षाका भाइबहिनीहरूका लागिसमेत उच्च प्रविधि पर्याप्त शैक्षिक सामग्रीसहित पढाउन आवश्यक छ ।”

      अभिभावक चोकलाल तिवारीले प्रविधिको अधिकतम प्रयोग गर्ने विद्यालयको प्रयासले अभिभावकमा नयाँ आशा जगाएको बताउनुभयो । उहाँले शिक्षककै कोठामा गएर पढ्नुपर्ने नियमका कारण आफ्ना छोराछोरीमा सिर्जनशीलता र क्रियाशीलताको विकास भएको बताउनुभयो । उहाँले जिल्लाका उत्कृष्ट विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नमुना र शैक्षिक स्तर राम्रो भएका विद्यालयहरूमा गएर यहाँका शिक्षकहरूलाई सिक्नसमेत सुझाव दिनुभयो । 

      विद्यालयका शिक्षक प्रकाश न्यौपानेले बढ्दो बसाइँसराइका कारण गाउँ खाली भएको अवस्थामा प्रविधिको प्रयोगसहितको यो पद्धतिले विद्यार्थी टिकाउन सहज भएको बताउनुुभयो । उहाँले विद्यार्थी शिक्षकको कोठामा अध्ययन गर्न आउने परिपाटीले शिक्षक र विद्यार्थीबीच आत्मीयता, सद्भाव, सिर्जनशीलता र रुचिको विकास भएको दाबी गर्नुभयो ।

      जिल्ला शिक्षा समन्वन एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले स्याङ्जामा ‘आइसिटी’को प्रयोग गर्ने विद्यालयहरूको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोग गरेका यहाँका विद्यालयहरूबाट सकारात्मक नतिजासमेत आइरहेको दाबी गर्नुभयो । “प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विद्यार्थीमा देखिएको गलत आचरण र व्यवहार हटाउनसमेत हामीहरू प्रयासरत छौँ”, प्रमुख आचार्यले भन्नुुभयो, “विद्यार्थीले प्रविधिको गलत प्रयोग गर्न सक्ने सम्भावनासमेत रहने हुँदा अभिभावकलाई पनि चनाखो हुन सुझाव छ ।” 
–––

मङ्गलबार १६ असोज २०८० ०५:१९ PM मा प्रकाशित

प्रतिक्रिया