काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न भनेका छन् । बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप समेत लगाए ।
‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन,’ उनले भने । ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताए ।
उनले अराजकता कति समयको पाहुना हो भनेर समेत प्रश्न गरेका छन् । ओलीले निर्वाचन एउटा तमासा भएको समेत टिप्पणी गरेका छन् । ‘चुनाव एउटा तमासा थियो मतदातासँग भेटेका छौँ कुरा गरेका छौँ । अधिकांश मतदाता त व्यक्तिगत रुपमा चिनेका छौँ ।’ ओलीले भने,’डबल मत खारेज भएर जित्ने स्थिति आउनु भनेको पूर्व निर्धारित योजना हो । यो परिणामलाई स्विकारेर संसद्मा सहभागी भइरहेका छौँ ।’
अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको पनि बताएका छन् । तर आयोगले बयान दिएको भनेर छापेको भन्दै त्यो आयोगले आफ्नो इज्जतका गरेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरण आयोगलाई समेत आफूले बयान नदिने पनि बताएका छन् । ‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण ? ओलीले आक्रोशित हुँदै भने ‘के को सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानु ।’
२१ फागुनको चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् ।
संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।
उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे ।
विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’
आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए । ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उनले भने ।
‘गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन् । गर्नेहरूले क्रान्ति भन्ने नै भए । युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘काँक्रो आफूले खाइसकेपछि बिया अर्कोको गलामा टाँसिएको छ’ अध्यक्ष ओलीले उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमै उल्लेख रहेको बताए ।
ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए । ‘त्यसका निम्ति तालिमहरू भए । आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउनेजस्ता प्रयास भए’, उनले अराजकता अझै कायमै रहेको भन्दै थपे, ‘राष्ट्रद्रोही र आगो लगाउनेजस्ता कुरा सर्लक्क पचाउने काम भएको छ ।’
लोकतान्त्रिक आन्दोलनको अगुवाई एमालेले गरेकै कारण एमालेमाथि आक्रमण भएको भन्दै देश सर्वोपरि हुने भएकाले यसबारे सबैले बुझ्न जरुरी रहेको बताए ।
प्रतिक्रिया