×

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण

images

स्थानीय तह निर्वाचनमा खटिने मतदात अधिकृत र सहायक मतदान अधिकृतहरूका अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । कार्यालयले मतदानस्थलमा खटिने मदतान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि आवश्यक विधि, प्रक्रियाबारेमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान तथा मतगणना प्रक्रिया, निर्वाचन आचारसंहिता र सुरक्षा तथा निर्वाचनको अवस्था र प्रक्रियाका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताउनुभयो । सो क्रममा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले मतदान तथा मतगणना प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो भने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन आचारसंहिता र सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । निर्वाचनको अवस्था र प्रक्रियाबारे भने जिल्ला निर्वाचन अधिकृत उमेश राईले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका चारवटा नै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाको अवस्था बारेमा जानकारी गराउनुभएको छ । सो क्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले सहभागीका सहायतामा नमूना मतदान प्रदर्शन विधिबाट त्यसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीले गर्नुपर्ने भूमिकाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिृकत गरी ७६२ जनाको सहभागिता रहने कार्यक्रममा आज पहिलो चरणमा ३४० र बाँकी सहभागीका लागि बुधबारलाई समय तोकिएको जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लामा यही वैशाख ३० गते १८९ वटा मतदानस्थलको ३८१ वटा मतदान केन्द्रहरुबाट तीन लाख तीन हजार ५६० जनाले मतदान गर्दै छन् ।

मङ्गलबार २० बैशाख २०७९ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया