×

एमाले सचिवालय बैठक बस्दै : बादलको विवादित अभिव्यक्तिबारे छलफल हुने

images

काठमाडौँ - नेकपा एमाले उपाध्यक्ष एव‌ं संसदीय दलका नेता रामबहादुर थापाले बिहीबार संसद् बैठकमा दिएको अभिव्यक्तिबारे छलफल गर्न आज एमालेकोसचिवालय बैठक बोलाइएको छ । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने बताएका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभामा संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका थिए ।

आजको बैठकमा थापाको पछिल्लो राजनीतिक अडान र अभिव्यक्तिबाहेक अन्य समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्ययोजनाबारे पनि छलफल हुने कार्यतालिका छ । आधिकारिक नीतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै नेतृत्व तहमा थापाको आलोचना भएपछि आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भदौ २३ को जेन-जी आन्दोलन भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई लिएर उनले तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसकारी संस्थाको हात हरेको बताएपछि एमालेभित्र ठूलै तरङ्ग आएको छ ।

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला थापा बुधबार संसदीय दलको नेता बनेर बिहीबार संसदको बैठकमा एमालेको धारणा राखेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन ‘राज्य र बिभिन्न शक्ति लागेको’ आरोप उनले लगाएका थिए ।

‘यो जादूमय विजयमा ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ थापाले भनेका थिए, 'अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

शुक्रबार​ २० चैत २०८२ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया