काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित ८ दलबीच एकता गर्ने सहमति भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता अग्रण १८ बुँदे सहमति भएको छ ।
पार्टी एकता सहमति पत्र :
पूँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राखि ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, ने.क.पा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी ने.क.पा (माओवादी समाजवादी) र ने.क.पा. (साम्यवादी) का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि निम्न प्रस्तावहरुमा सहमति गरिएको छ :
१. पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हुनेछ ।
२. नेपाली क्रान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३. पार्टीको तात्कालिक कार्यनीति: पुँजिवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
४. आन्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
५. पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिनेछ ।
६. एकता राष्ट्रिय महाधिवेशन : आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
७. केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
८. केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
९. संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।
१०. सहमति र समन्वय एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
११. सबै तहको पार्टी पंक्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरुबाट रहने व्यवस्था गरिने छ ।
१२. दुई तहमा रहन सक्ने : कुनै पनि सदस्यहरु दुई तहको समितिमा रहन सक्ने छन् ।
१३. पार्टी समितिहरुको सञ्चालन : पार्टी समितिहरुको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुनेछ ।
१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
१५. संगठनात्मक समायोजन : पार्टी समितिहरू र जनसंगठनहरूमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
१६. पार्टीको तहगत कार्यकारी समितिहरु : केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रुपमा रहने छन् । १७. पार्टीको नाम र चुनाव चिन्ह पार्टीको नाम रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
१८. मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुयाईने ।

प्रतिक्रिया