बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक संजय लीला भन्सालीविरुद्ध मुद्धा दायर भएको छ । भन्साली प्रोडक्सनका प्रोडक्सन म्यानेजर उत्कर्ष बाली र अरविन्द गिलविरुद्ध समेत गम्भीर मुद्दामा एफआईआर दर्ता गरिएको छ ।
यो मुद्दा भन्सालीद्वारा निर्मित लोकप्रिय फिल्म 'लभ एण्ड वार' को छायांकनसँग जोडिएको छ । एफआईआरमा ठगी, आपराधिक विश्वास उल्लंघन, धम्की र संगठित षड्यन्त्र जस्ता गम्भीर आरोपहरू लगाइएको छ । यो उजुरी राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ तथा लाइन निर्माता प्रतीक राज माथुरले दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले फिल्मको निर्माणमा नियुक्ति प्रक्रिया र सुरक्षा व्यवस्थामा ठगी गरिएको आरोप लगाएका छन् ।
फिल्म 'लभ एण्ड वार' को छायांकनको क्रममा नियुक्ति र सुरक्षा व्यवस्थामा ठगी गरिएको आरोप लगाइएको छ । यसबाहेक, १७ अगस्ट २०२५ मा निजी सुरक्षाकर्मीहरूले गरेको दुर्व्यवहार र धम्कीको घटना पनि एफआईआरमा उल्लेख गरिएको छ ।
हाल भन्साली वा उनको टोलीबाट कुनै आधिकारिक बयान आएको छैन । भन्साली लामो समयपछि छायांकनको लागि राजस्थान आएका थिए । यसअघि उनको फिल्म 'पद्मावत' को छायांकनको बारेमा विवाद भएको थियो । अब फेरि एक पटक संजय लीला भन्साली र उनको टोली राजस्थानमा विवादमा घेरिएका छन् ।
प्रतिक्रिया