काठमाडौँ । नेकपा एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिर आउन शुरु भएको छ ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इमेज च्यानलमा पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि विवाद शुरु भएको छ । खनालले भनेका थिए- 'जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’
नेता खनालले एमालेले मार्क्सवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२-०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मानेमा एमाले फर्किन समेत सकिने बताए । अध्यक्ष माधव कुमार नेपालको कार्यशैलीको पनि आलोचना गर्दै नेता खनालले नेपालसँग आफ्नो सैद्धान्तिक मतभेद अहिले पनि जारी रहेको अन्तर्वार्तामा बताएका थिए । खनालको सो अभिव्यक्तिपछि अध्यक्ष माधवकुमार नेपालले खनालप्रति कडा टिप्पणी गर्दै उनले पार्टी छोडेर जानसक्ने अभिव्यक्ति दिएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिए । खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएकाले पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको नेपालको भनाइ थियो । उनले भने- 'उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन । नैतिक अधिकारै छैन । अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ ।’
नेपालले खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लंघन गरेको समेत आरोप लगाए । उनले भने- 'संस्थागत निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’
बामदेव गौतमको प्रवेश पछि दुई शिर्ष नेताहरुबीच भएको यो नयाँ विवादले एकीकृत समाजवादीलाई फेरी चर्चामा ल्याएको छ । बामदेवले एकीकृत समाजवादीमा जिम्मेवारी खोजिरहेको, नेपालविरुद्ध लागेको भ्रष्टाचारको मुद्धा र झलनाथले खोलेको फायरले पार्टीलाई नयाँ विवादतर्फ धकेलेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया