×

दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा घटना रहस्यमै

images

काठमाडौं । दरबार हत्याकाण्ड भएको आज शुक्रबार २२ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो।

घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्। २२ वर्ष बित्दासम्म समेत घटना रहस्यमय छ। हत्याकाण्ड भएको स्थामन नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालयमा परिणत गरिएको छ। 

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए ।

त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

शुक्रबार​ १९ जेठ २०८० ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया