×

कालापानीको विकल्प बारे सोच्न सकिन्छ , भ्रमण अहिलेसम्मकै ऐतिहासिक: प्रधानमन्त्री

images

काठमाडौं ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण अहिलेसम्मकै ऐतिहासिक भएको दावी गरेका छन् । भारतीय प्रधानमन्त्री  मोदीले आफूसँग तीनपटक वान टु वान भेटेको उनले जानकारी दिए ।    

‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ। भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ। त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्’, उनले भने, ‘हामीले भारतीय पक्षसँग छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेशको जस्तै विकल्प छ। बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ।’ 

प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले  कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताए। ‘अर्को चाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि हो’, उनले भने, ‘त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ।

हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ। नेपालमा विज्ञहरूले त्यतापट्टी (पूर्वी नाका) पाउने हो भने पनि ठीकै छ भनेका छन्, त्यो पनि विकल्प हुन सक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन्।’ सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्। प्रचण्डका अनुसार एकपटक कुरा बिग्रेलाजस्तो भएको थियो, तर पछि सम्हालियो ।

‘मलाई त एकपटक बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे जस्तो भएको थयो । एम्बेसीमा जाँदा मेरो अनुमारमा चमक नभएको, कुनै दवाव भएजस्तो देखिन्थ्यो । मोदीसँग तीन पटक वान टु वान भेटवार्ता भएपछि परिस्थिति सहज भयो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु,’ उनले भने ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर कुरा गरेको बताए । उनले सुनाए, ‘छोटो पिरियडमा पहिले २०–२५ मिनेट, पछि ५–७ मिनेट वान टु वान मिटिङ भयो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला उहाँले सुपरहिट र हिमायलको हाइटमा जान्छ भन्ने कुरा गर्नुभएको देख्छु मैले ।’  प्रचण्डले यसअघि नेपालको दाबीबारे इन्कार गर्दै आएको भारतले यस पटकदेखि कालापानीबारे सोच्न थालेको बताएका छन्। 

‘कालापानीबारे विकल्पहरू सोच्न सुरू भएको छ हिजोबाट। विकल्पबारे सोच्न सुरू हुनु नै ब्रेक थ्रु हो। त्यसैले गर्दा त मोदीजी बोल्नु भयो आफैँले यो हल गर्नु पर्छ भनेर’, उनले भने, ‘प्रधानमन्त्री मोदीजीमा पनि यो र्‍यासनल नै हो, यसलाई राखिरह्यो भने नेपाल-भारत सम्बन्ध कहिले पनि सुध्रिने भएन भन्ने परेको छ। जहिले पनि लिपुलेक, कालापानी भन्यो अनि त्यसैमा अल्झिरहने भयो।’

पश्चिमी क्षेत्रको सीमा समस्या हल गर्न सकेमा अरु विषयमा अघि बढ्न सकिने पनि उनले बताए। ‘यसलाई हल गर्यो भने अरू इकोनोमिक, कल्चरल सम्बन्ध त छँदैछ हामीबीच’, उनले भने, ‘यसकारण हिजोबाट विकल्पहरू के के हुन सक्छन् त भन्नेमा गइसक्यो। अथवा त्यहीँ (कालापानी) पनि केही गर्न सकिन्छ त भन्ने पनि छँदैछ। हिजोबाट बाउन्ड्रीबारे सकारात्मक, कन्सट्रक्टिभ डिबेक्ट सुरू भयो।’ 

प्रधानमन्त्रीको भारत भ्रमण सुरु भएकै दिन नेपालमा नागरिकतासम्बन्धी विधेयक जारी भएको र यसबाट कतिपय टिकाटिप्पणी पनि आएका विषयमा सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रण्डले त्यस दिन परेको त्यो संयोगमात्र रहेको र यसरी भ्रमणसँग जोडेर हेर्न नहुने बताएका हुन् ।

शुक्रबार​ १९ जेठ २०८० १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया