×

महिला जनप्रतिनिधि भन्छन्ः “प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौँ ”

images

तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका यहाँका जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरु सक्षम रहेको बताएका हुन् । 

 व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले महिलाहरु पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएको बताउनुभयो । पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बीचमा अनुभव बटुल्यौँ, प्रमुख भएर नगरपालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामी केही कुरामा पनि कम छैनाँै ।”

“नगरप्रमुखको आकाङ्क्षी धेरै हुने गरेकाले महिलाहरु पनि अब नेतृत्वमा आउनुपर्छ” उपप्रमुख जोशीको भनाइ थियो, “सँगसँगै राजनीति गरेकाहरु प्रदेश सांसद भइसके, निर्वाचनमा अब मेरो दाबेदारी नगर प्रमुखमा रहन्छ ।” जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको उपप्रमुख भएर काम गरिरहँदा सोचे अनुरुपको केही कामहरु भने गर्न नसकिएको उहाँको भनाइ थियो ।

घिरिङ गाउँपालिकाका उपाध्यक्ष सरस्वती सिग्देलले अबको निर्वाचनमा आफ्नो दाबेदारी अध्यक्ष पदका लागि हुने बताउनुभयो । टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले पनि सोच्नुपर्नेमा  उहाँले जोड दिनुभयो । “पहिला पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट पनि अनुमोदन हुन सक्छु भन्ने आत्मविश्वास छ,” उपाध्यक्ष सिग्देलले  भन्नुभयो, “अध्यक्ष भएर जनताको सेवा गर्ने सङ्कल्प गरेको छु ।”

उहाँले पाँच वर्षको अवधिमा उज्यालो घिरिङ, घरघरमा धारा, सडक स्तरोन्नतिलगायत कामहरु गरिएको जानकारी दिनुभयो । “हामी निर्वाचित भएर आउँदा गाउँपालिकाको कार्यालय थिएन, सडक आयोजनाको घरमा बस्यौँ, सङ्घीयतापछिको पहिलो जनप्रतिनिधि भएकाले धेरै कुरा सिक्न समय पनि लाग्यो,” उहाँले भन्नुभयो, “काम गर्दै जाँदा अनुभव हासिल भयो, अब त अध्यक्ष भएर गाउँपालिका चलाउन सक्छु ।”

आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकिएको बताउनुभयो । “धेरै कुरा गर्छौँ भन्ने जोसका साथ आएका थियौँ, पहिलो वर्ष सिक्नमै समय गयो, दोस्रो वर्ष पहिलो वर्षको कार्यक्रम लागू गर्न अगाडि बढ्यौँ, तेस्रो वर्षदेखि कोरोना आयो,” उहाँले भन्नुभयो, “यति हुँदाहुँदै पनि भौतिक पूर्वाधार, हरेक वडासम्म पुग्ने सडक निर्माण, वडा कार्यालय भवन, स्वास्थ्य केन्द्रका भवन बनाएका छाँै ।” उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अब गाउँपालिका अध्यक्ष भएर काम गर्ने इच्छाशक्ति उत्पन्न भएको श्रेष्ठले बताउनुभयो । 

घिरिङ गाउँपालिका–२ का वडासदस्य सनम थापाले सदस्यमा काम गरेको अनुभवका आधारमा अब वडाध्यक्षका लागि आफ्नो जिकिर रहेको बताउनुभयो । “वडा सदस्य भएर सिकेको अनुभवका आधारमा वडाध्यक्ष चलाउन सक्छु,” उहाँले भन्नुभयो । व्यास नगरपालिका–४ का वडा सदस्य वसुन्धरा घर्तीले महिलाहरु अब नेतृत्वमा आउनै पर्नेमा जोड दिनुभयोे । “महिलाहरु पनि पुरुष सरह हरेक काममा सक्षम छन्, अब नेतृत्वमा महिला पुग्नुपर्छ, त्यसका लागि सबै महिलाले आवाज उठाउनुपर्छ,” उहाँले भन्नुभयो । 

शनिबार १९ चैत २०७८ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया