×

पशुपन्छी विकास मन्त्रालयद्वारा कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

images


काठमाडौं। कृषी तथा पशुपन्छी विकास मन्त्रालयलेले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले बिहिबार कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाको अनुगमन गरेको हो । 

कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको सो मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। टोलीले, तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न  अनुगमन गरेको हो। 

अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको बताइएको छ। 

केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ। केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
 

बिहीबार १८ फागुन २०७९ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया