×

प्रतिपक्षी बेन्चमा कांग्रेस-एमाले दुवैको दाबी

images

काठमाडौं । सरकारको नेतृत्व गरेको (माओवादी केन्द्र) र प्रतिपक्षी दल नेपाली कांग्रेससमेतको नयाँ समीकरण बनेसँगै सरकारबाट बाहिरिएको एमालेले प्रतिपक्षी बेन्चमा दाबी गरेको छ ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले एमालेसँग गठबन्धन गरेर बनेको प्रचण्ड सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बेको थियो । सत्ता राष्ट्रपति निर्वाचनका सन्दर्भमा फेरिएको समीकरणपछि एमालेले प्रतिपक्षी दलमा आफ्नो दाबी गरेको हो । तर, कांग्रेस सरकारमा गइनसकेकाले संसद्को सबैभन्दा ठूलो दलको हैसियतले प्राप्त गरेको प्रमुख प्रतिपक्षी सरकारमा नजाँदासम्म कायम रहने नेपाली कांग्रेसले दाबी कायमै राखेको छ ।

विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएको भन्दै कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको छ । दुई ठूला दलहरू कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहँदा संसद् सचिवालयलाई समेत तत्काल निर्णय गर्न समस्या हुने भएको छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमबार एमालेले सरकार छाडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्दै सरकार छाडेकाले आफूहरू प्रमुख प्रतिपक्ष दल भएको एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्माले बताए । उनले भने– ‘एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी एमाले नै हो । नेकपा एमाले औपचारिक रूपमै प्रमुख प्रतिपक्षी दल बनेकाले प्रतिपक्षी बेन्चमा बस्छ ।’

यद्यपि, को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरूपण गर्ने काम संसद् सचिवालयको भएको नेताहरूले बताएका छन् । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले दुवै दलले अहिलेसम्म आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए । नेपाल समाचारपत्र दैनिकबाट

बिहीबार १८ फागुन २०७९ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया