काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच सवालजवाफ भएको छ । बैठकको सुरुमा प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारको फाइल खोल्न थालेपछि सरकार नै ढलेको प्रसंग निकालेका थिए । लगत्तै गगन थापाले अब भ्रष्टाचारको फाइलको कुरा गरेर एकले अर्कोलाई तेर्साउने काम बन्द गर्नुपर्नेमा जोड दिएका थिए । थापाले बरु कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु एक ठाउँमा बसेर अहिले चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डको फाईल अघि बढाउन सहमति गर्नुपर्ने धारणा राखेका थिए ।
थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउनको लागि मात्रै उठ्न नहुने बताएका छन्। बैठकमा उनले फाइल खोल्दिन्छु भनेर एक अर्कालाई धम्क्याउने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाए।
‘कसैले म फलानो फाइल खोल्दिन्छु भन्ने, कसैले मैले फाइल खोल्न लागेकाले यस्तो भयो भन्ने, यो फाइलका कुराले जनता आजित भइसके,’ थापाले भने, ‘बरू एकदिन सबै दलका सबै नेता बसेर एउटा बैठक राखौं र कुन–कुन फाइल खोल्ने निर्णय गरौं। एक अर्कालाई आरोप प्रत्यारोप गर्ने कुराले मात्रै परिणाम दिंदैन।’
बैठकमा प्रचण्डको नाम मुछिएको नुवाकोटको शेरा दरबारको विषयमा पनि प्रश्न उठेको थियो । जसमा दाहालले आफ्नो नाम जोडेर समाचार आएको शेरा दरबारको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न भनेका छन् ।
उनले समितिको बैठकमा भनेका छन्, ‘एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं । भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो छलफल गरौं ।’ अन्यथा समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएकोले एकीकृत रुपमा समाधान खोज्नुपर्ने बताएका हुन । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।
‘बनाउने भए शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, महामन्त्री थापाले भने ।
यस्तै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका थिए । बैठकमा बोल्दै दाहालले दोषीलाई कारबाही गर्न र यसका लागि आफू सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन ।
बैठकमा वासुदेव घिमिरेले शेरा दरबार प्रकरणबारे प्रश्न गरेका थिए । त्यसबारे जवाफ दिँदै प्रचण्डले भने, ‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ । मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु ।’
‘म प्रधानमन्त्री हुँदै गर्दा विभिन्न खालका भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूको बारेमा जो कोही पनि कानुन मिचेर कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन हुँदैन भनेको थिएँ,’ उनले थपे, ‘मैले आफ्नै पार्टीका नेताहरू दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ । राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जो कोही होस्, कानुनको दायरामा ल्याउनुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ ।’
प्रतिक्रिया