काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ।
उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्।
कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा ज्यान गुमाएका सहिदहरूको तस्बिरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए। उनीहरूले ‘जेनजी’ एक हुनुपर्नेमा समेत जोड दिए ।
जेनजी एक नभएसम्म सहिदको आत्माले शान्ति नपाउने उनीहरूले बताए । काठमाडौंको माइतीघरमा भेला भई उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘रगतले लेखिएको इतिहास अब खेर नजाओस्’, ‘सहिदको नाममा स्वार्थको खेल नहोस्,’ ‘सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
नेपाली झन्डा शरीरमा ओढेर उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरे ।
प्रतिक्रिया