×

गिद्ध संरक्षण सप्ताह : राप्ती किनारामा सरसफाइ

images


चितवन, १५ भदौ ः गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ गरिएको हो ।

    सङ्कटापन्न अवस्थामा पुगेको गिद्ध संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सहआयोजनामा कार्यक्रम गरिएको हो । शनिबार स्कुलका विद्यार्थीलाई कुमरोज सामुदायिक वनमा घुमाएर गिद्धसहितका चराको अवलोकन र महत्वका बारेमा जानकारी गराइँदैछ ।

    सरसफाइ कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुश्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।  

    कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध सङ्कटापन्न अवस्थामा रहेको जनाउँदै चितवनमा यसको प्रजनन् हुन छाडेको बताउनुभयो । जाडो महिनामा अन्तबाट गिद्ध चितवन आउँछन् । तर चितवनमा गिद्ध छैन । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिलकुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको उपस्थिति थियो ।

शुक्रबार​ १५ भदौ २०८० ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया