काठमाडौं, फागुन १६– विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मान पल्सरस्पोर्टस अवार्डको १९औं संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कुल ९ विधामध्ये वर्ष २०७८ को वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुषमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अन्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिला क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका छन् ।
मन्चका सचिव अन्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले २०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् । त्यस्तै वर्ष युवा खेलाडीमा फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी तथा प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।
एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड आगामी फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । यस वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ भने जसमा पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भैसकेको छ । यसअन्तर्गत फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका छन् । यसबाहेक अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्डको विजेता भने फागुन २३ गते सार्वजनिक गरिनेछ ।
वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ ।
त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ ।
प्रतिक्रिया