×

११ दलमध्ये नौ दल आज सरकारमा सहभागी हुँदै, आजै शपथ

images

काठमाडौं । सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी नौ दलको सहभागिता हुने भएको हो ।

नेकपा एकीकृत माजवादीका उपाध्यक्ष वेदुराम भुषालले सरकारमा नौ दल सहभागी हुने र शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

‘सरकारमा नौ दल सहभागी हुनेगरी मन्त्रालयको टुंगो लागेको छ, मन्त्रीको नामसमेत लगभग तय भइसकेको हुँदा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले भने ।

कांग्रेसले बिहीबार आफुले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम पनि तय गरिसकेको छ । कांग्रेसले आठवटा मन्त्रालय पाउने सहमति छ ।

कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का सरकारमा उपप्रधानसहित सहभागी हुँदै छन् । उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।

कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ । यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ ।

कांग्रेस उपसभापति खड्का र नेता रमेश रिजालको भने मन्त्रालय तय भइसकेको छैन । उनीहरूमध्ये एकले परराष्ट्र र अर्काले रक्षा मन्त्रालय सम्हाल्नेगरी सभापति शेरबहादुर देउवाले  निर्णय लिनेछन् । कांग्रेसले मन्त्री र मन्त्रालयको नाम तय गर्ने अधिकार सभापतिलाई दिइसकेको छ ।

यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित पाँच, एकीकृत समाजवादी र जसपाले दुई÷दुई मन्त्रालय पाउनेछ । माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।

यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन् । जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ । सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन् । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन् । लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।

जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन् । उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ । सो दलले एक राज्यमन्त्री पनि पाउनेछ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन् ।

भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन् । राजधानी दैनिकबाट

शुक्रबार​ १७ चैत २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया