काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले शिक्षक आन्दोलनले प्रतिपक्षीहरुले सरकार ढाल्ने अस्त्र बनाउने असफल प्रयास गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलहरुले यस्ता प्रकारका असफल प्रयास बन्द गर्नुपर्ने बताएका हुन् । नेता गैरेले पेशागत आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास गर्नु गलत रहेको बताए ।
‘शिक्षा क्षेत्रजस्तो संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने अस्त्र बनाउने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न गर्ने यस्ता चिजहरु बन्द हुनुपर्छ,’– उनले भने ।
प्रतिपक्षीले शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन छाडेपछि मात्रै हिजो संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सकिने उनले बताए । ‘त्यसो भयो भनेमात्रै प्रतिपक्षका माननीयज्यूहरुले सामुहिक रुपमा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावको छलफलको पनि औचित्य हुनेछ । होइन भने बहस छलफल एउटा गर्ने, सडकमा गएर अर्को कुरा गर्ने बानी रहन्छ तबसम्म नेपालको शिक्षा क्षेत्र हामीले सोचेजस्तो हुँदैन,’– नेता गैरेले भने ।
आफूहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका शिक्षकहरु विगत २८ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनका कारण देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।
उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे। विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनले बताए। त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको उल्लेख गरे। उनले समितिमा बिचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिवद्धता आवश्यक पर्ने जिकिर गरे।
प्रतिक्रिया