×

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी , भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ।

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए।

ती नेताले भने, ‘बैठक जारी छ, हिजो टुंगो लगाउने भनिएता कुरा मिल्न सकेको थिएन। सकेसम्म मिलाएर आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी छलफल भइरहेको छ।’ मन्त्रालय सङ्ख्यामा दलहरूको दाबी धेरै हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिमण्डल विस्तार गर्न कठिन भएको छ । मंगलबार बसेको १० दलको बैठकमा नेपाली कांग्रेसले नौ मन्त्रालयमा दाबी पेस गरेको छ भने जसपा र नेकपा एकीकृत समाजवादीले तीन तीन मन्त्रालयमा दाबी गरेका छन् ।

त्यस्तै लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले दुई दुई मन्त्रालयको दाबी गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाए सरकारमा जाने बताउँदै आएको छ । आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताएका छन्।

मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्। सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले अहिले प्रधानन्त्रीसहित ५ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । 

जनमतले एउटा मन्त्रालय पाएको छ । उसले थप एक मन्त्रालय पाउनुपर्ने बताउँदै आएको छ । एमाले, रास्वपा र राप्रपाले छोडेका १६ वटा मन्त्रालयमा कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्ती पार्टीलाई भागबन्डा गर्नुपर्ने अवस्था छ । आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन्। 

बैठकमा दस दलका शीर्ष नेता सहभागी छन्। 


 

बुधबार १५ चैत २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया