×

रवि लामिछानेले लिए नेपाली नागरिकता

images

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् । 

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए । त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ। 'ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ,’ उक्त नियमावलीमा भनिएको छ।

यही प्रक्रिया पूरा गरी रविले नागरिकता लिएका हुन्।

आइतबार​ १५ माघ २०७९ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया