काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ ।
राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् । कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिएका छन् । यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए ।
राष्ट्रिय र गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरूको अवस्था र सरकारका गलत काम कारबाहीबारे बोल्न सांसदहरूलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।
कार्यक्रममा निर्धाणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाडौँ तराई एक्सप्रेस वे (फास्ट ट्रयाक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलासयुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ।
प्रतिक्रिया