×

कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा ऊर्जामन्त्रीको पुत्ला दहन

images

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन्।

कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थीत विश्वभाषा क्याम्पस अगाडि ऊर्जामन्त्रीको पुत्ला दहन गरेका हुन्।

ऊर्जामन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको थियो। प्रदर्शनका क्रममा बिद्यार्थीहरुले ऊर्जामन्त्रीको राजीनामा समेत माग गरेका छन्।

अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले कुलमान घिसिङले ऊर्जा बिकासमा गरेको कामप्रति समर्थन रहेको भन्दै उनलाई हटाउने कामको विरोध गरे। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

कुलमानलाई हटाइएको बारे अहिले सर्वत्र आलोचना भइरहेको छ।  सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतले समेत कुलमानलाई पदबाट बर्खास्त गर्नुलाई गलत भनेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको उक्त निर्णयको घोर निन्दा गरेका छन्।

मङ्गलबार ११ चैत २०८१ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया