×

मेयर बालेन एमालेविरुद्ध परिचालित छन् : महासचिव पोखरेल

images

काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न आदेश दिएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।

महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ । महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ — मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार जागरण सभा भएको हो। यता नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले  मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका छन् । महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रस्ट रूपमा बुझिएको बताएका छ्न ।

महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताएका छन् । 

‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताएका छन् ।

शनिबार ८ मंसिर २०८१ ०७:५१ AM मा प्रकाशित

प्रतिक्रिया