जुनसुकै विषय होस् त्यसमा त्रुटी देखिए पछि संशोधन गर्नै पर्छ र जसले त्रुटी ग¥यो उसले संशोधन गरी सच्याएनन् भने पनि पछि अरुले भएपनि सच्याउने गर्दछ । गलत भनेर थाहा भैसके पछि पनि त्यसलाई नै निरन्तरता दिइरहनु भएन । तद्नुरुप धेरै यस्ता विषय वस्तुहरु छन् ती विषय सदियौं वर्ष पछि आएर भए पनि सच्याउंदै आएको पाइन्छ । ती विषयहरु मध्ये एउटा इस्वीसन पनि हो । शुरुमा यसलाई रोमका जुलियस सिजर भन्ने व्यक्तिले संशोधन गरी क्यालेण्डर बनाएको हुनाले यसलाई जुलियन क्यालेण्डर भनियो । पछि यसलाई पोपग्रेगोरीले संशोधन गरेकोले इस्वीसनको क्यालेण्डरलाई जुलियन नभनी ग्रेगोरियन क्यालेण्डर भनियो ।
तर यो ग्रेगोरियन क्यालेण्डरलाई अरु सारा मुलुकले मानेतापनि ब्रिटिशहरुले मानेको थिएन । यही ग्रेगोरियन पनि इस्वी १७५१ मा आएर ब्रिटेनले पुनः यसलाई संशोधन परिमार्जन गरे । अतः अहिले विश्व भर व्यवहार भइरहेको इस्वी सन भनेको क्यालेण्डर जुलियन पनि होइन र ग्रेगोरियन पनि होइन । यो ब्रिटेनद्वारा संशोधन गरिएको इस्वीसन हो यो कुरा तारिख गणना परिपाटीबाट पुष्टि भइरहेकै छ ।
अहिले कतिपय इतिहासकारहरुले के गर्दै आएको देखिन्छ भने तारिख गणना गर्दा बार मिल्न आएन भने हचुवा पाराले जुलियन र ग्रेगोरियन भएर यसरी फरक पर्न गएको हुनुपर्छ भन्दै पन्छिंदै आएको देखिन्छ । वास्तवमा जुलियन क्यालेण्डरको संशोधन भइसकेपछि फेरि जुलियन समाती रहनु जरुरी छैन त्यस्तै ग्रेगोरियन क्यालेण्डरको पनि संशोधन भइसके पछि फेरि ग्रेगोरियन अनुसार भनीरहनु जरुरत छैन ।
हुनत नेपालमा इस्वीसनको प्रभाव धेरै पछि आएर मात्र देखापरेको हो । त्यसमा स्वयं इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको इतिहास लेख्दा सर्वप्रथम इस्वीसन प्रयोग गरेको देखियो । त्यसपछि सूर्यविक्रम ज्ञवाली,बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी लगायत धेरैले इस्वीसन प्रयोग गरेर लेखे । संशोधन मण्डलले कहिल्यै पनि इस्वीसन प्रयोग गरेर लेखेको देखिंदैन । खैर इस्वीसन प्रयोग गरेर होस् या नगरेर होस् त्यो ठूलो कुरा भने होइन । इतिहास शुद्ध लेखिएको हुनुप¥यो भन्ने संग मात्र सरोकार र चासोको कुरो हो ।
मान्छेलाई पत्याउन गाह्रो होला तर स्वयं बावुराम आचार्यले लेखेका पुस्तकहरु मात्र अगाडि राखेर पल्टायौं भने पनि इस्वी सन नमिलेको मात्र होइन एउटै कुरा पनि कुनैमा के कुनैमा के समेत दिइएको पाइन्छ । अझ झनै पत्याउन गाह्रो त लुसियानो पेतेकले नेपालका हस्तलिखित ग्रन्थ तथा अभिलेखहरुको बारेमा लेख्दा इस्वीसनको मितिबाट Verified भनिएतापनि शत प्रतिशत मिल्दैन । संशोधन मण्डलले इस्वी सन प्रयोग नगरे तापनि पेतेकले लेखेको पुस्तकमा संशोधन मण्डलका पं नयराज पन्तसंग सोधेर उहाँबाट परीक्षण भएको भनी ठाउंठाउंमा उल्लेख गरिएका छन् । अतः अभिलेखमा रहेका मितिको इस्वी सनमा परिणत गर्दा स्वयं पेतेकले दिएको मितिहरु एउटा पनि नमिलेबाट पं नयराज पन्त समेत यसमा चोखो भन्न मिल्ने अवस्था भएन ।
बावुराम आचार्यको प्रस्तुति
प्रायः इतिहासकारहरुले वडा महाराजाधिराज पृथ्वीनारायण शाहको जन्म वि.सं १७७९ पौष २७ गते भनेर मान्दै आएको छ । यही मितिलाई इस्वीसनमा परिणत गर्दा कसैले इस्वी १७२२ डिसेम्वर २७ भन्यो भने कसैले चाहीं इस्वी १७२३ जनवरी ७ हो भन्यो । यसलाई जुलियन र ग्रेगोरियन क्यालेण्डरको समस्याको कारणले यसो भएको पनि भन्ने गरियो । तैपनि यी दुइ मध्ये पछिल्लो मत नै ठीक देखिन्छ पनि भनियो । किन ठिक देखेको भन्दा कुनै तारिख मितिको गणना परिक्षण गरेर भनेको चाहीं होइन रहेछ । किनकि इतिहास शिरोमणि बावुराम आचार्यको एउटा पुस्तकमा यो मिति लेखेको देखेर भनेको रहेछ ।
यदि बावुराम आचार्यले भनेको नै सही ठहरिने भए श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी नामक पुस्तक पनि उहाँले नै लेखेको र श्री ५ प्रतापसिंह शाह नामक पुस्तक पनि उहाँले नै लेखेका पुस्तक हुन् । पहिलो पुस्तकमा १७२३ जनवरी ७ लाई मानेको छ भने दोस्रो पुस्तकमा १७२२ डिसेम्वर २७ लाई मानेको छ ।
वास्तवमा इस्वी १५८२ देखि जुलियन क्यालेण्डर संशोधन गरी ग्रेगोरियन लागु भइसकेको हुनाले १५८२ पछि जुलियनको कुनै औचित्य छैन । त्यतिमात्र होइन इस्वी १७५१ भन्दा अघिको मिति प्राचीन रीत अनुसार गर्ने र १७५२ देखिको मिति भए नवीन रीतबाट गर्नु पर्ने पद्धतिको आविष्कार भइसके पछि जुलियन र ग्रेगारियनको पनि कुनै औचित्य बाँकी भएन । ती दुवै मिति गलत सिद्ध भइसकेका छन् । जुलियन र ग्रेगोरियनको विषयमा समेत उहाँको भनाइ स्पष्ट छैन ।
लुसियानो पेतेकको प्रस्तुति
विदेशीहरु प्रायः नेपाल बारे बुझ्न यहीं कै विद्वान कहलिएका व्यक्तिहरुको कृति अध्ययन गर्ने र ती नै व्यक्तिहरुसित सल्लाह गर्ने गरेका हुन्छन् । यो बाहेक उनीहरुको अर्को बिकल्प पनि छैन । त्यही भएर लुसियानो पेतेक नेपाल आएर उनले मेडिएभल हिस्टरी अफ नेपाल सि ७५० — १४८२ लेख्दा अरु विद्वानहरुको साथसाथै संशोधन मण्डल माथि भरपरेर लेखेका छन् । सहोत्तरतन्त्रको मितिको गणना गर्दा इस्वी ८७८ अप्रील १३ तारिख आइतवार आयो यसलाई नयराज पन्तको हवाला दिई Verified भएको भनेर जनाइएका छन् ।
पेतेकले आफनो पुस्तकमा नेपालसंवत्को शुरु शक ८०१ कार्तिक शुक्ल प्रतिपदा तद्नुसार अक्टोवर २०, ८७९ भनेर पनि उल्लेख गरेका छन् । उनले इस्वी संवत् ७५० देखि १४८२ सम्मका अभिलेख तथा हस्तलिखित ग्रन्थका मितिहरुको इस्वीसंवत्को साल महिना तारिख बार Verified भनेर दिइएका छन् । ती सव तालमेल नमिल्ने किसिमले दिइएका छन् । इस्वी १४८२ भनेको ग्रेगोरियन क्यालेण्डर लागु हुनु भन्दा अघिको समयका छन् । भने पछि जुलियन क्यालेण्डरका मुताविक गणना गरेको भनेर गणना समेतको केवल एउटा मात्र उदाहरण त दिइनु पर्दथ्यो । तर एउटा पनि छैन । अर्को हास्यास्पद कुरा ग्रेगोरियन क्यालेण्डर लागुहुनु भन्दा अघिका मितिलाई इस्वी १७५२ पछिको सिद्धान्त मुताविक नेपालसंवत्को तिथिमितिको तारिखमा परिणत गरिएका छन् । १७५२ पछि नेपालसंवत् र इस्वी संवत् बीचको अन्तर ८७९ र ८८० लाई लिइएको छ ।
विदेशी विद्वान भनेर के गर्नु आफैले नेपालसंवत ८७९ मा उठेकोपनि लेख्ने फेरि ८७९ र ८८० अन्तर देखाएर सवै तारिखहरु Verified भनेर लेखिनु भनेको पूरै स्वतः सिद्धान्त हीन हुन गएका छन् ।
नयराज पन्तको प्रस्तुति
नयराज पन्तले लेखेका पुस्तकहरु हेर्दा त्यसमा इस्वी संवत्मा परिणत गरेको नमुनाहरु देखिंदैन । तर लुसियानो पेतेकको पुस्तकमा नयराज पन्तसंग सोधीकन सहोत्तर तन्त्रको मिति ३०१ वैशाख शुक्ल सप्तमी आइतवारको जे तारिख दिइएको छ । यसबाट नयराज पन्तको दोहोरो चरित्रको पर्दाफास चाही हुन आएको छ ।
किनभने संवत् ३०१ लाई उहाँ मानदेव संवत् मान्ने व्यक्ति हो । त्यही मानदेवसंवत् ३०४ वर्ष चलेपछि बल्ल नेपालसंवत् उठान भएको हो भन्ने मान्यता राख्ने व्यक्ति पनि हो । यता पेतेकले नेपालसंवत् को उठान इस्वी ८७९ अक्टोवर २० भनेको लाई पनि समर्थन गरेको छ भने इस्वी ८७८ अप्रील १३ सम्म उहाँ कै मानदेव संवत् ३०१ भएको पनि समर्थन गरेको स्पष्ट देखिन आयो । तव इस्वी ८७८ सम्म ३०१ भएको मानदेव संवत् इस्वी ८७९ मै ३०४ भइसक्ने जस्तो असंभव मान्यता पनि बोक्ने भने पछि उनको यो दोहोरो चरित्रले नेपालको इतिहास कति दूर्गन्धित थियो भन्ने कुरा घाम जत्तिकै छर्लड्ड हुन आएको छ ।
यी कुरा सविस्तार बुझ्न सजिलो होस् भनी जुलियन भनेको के ग्रेगोरियन भनेको के र ब्रिटेनले १७५१मा गरेको संशोधन आदि इत्यादिको वर्णन गरी इस्वीसनको विकासक्रमको यसरी खुलासा गरिन्छ । जस्तै
इस्वी सनको क्यालेण्डरको विकासक्रम
खगोल शास्त्र अनुसार चन्द्रमाले पृथ्वीलाई आफना कक्षमा र आफनै गतिले घुमीरहेका हुन्छन् भने पृथ्वीले पनि सूर्यलाई त्यस्तै गरी आफनो कक्षमा आफनो गतिले घुमीरहेका हुन्छन् भनी हरेकले पढेकै हुनुपर्छ । पृथ्वीले सूर्यलाई एकचोटी परिक्रमा गरियो भने १ सौर वर्ष पूरा हुन्छ । पाश्चात्य वैज्ञानिकहरुले गणना गर्दा एकसौर वर्षमा ३६५.२४२२१८ दिन हुन्छ भनी हिसाव निकाले । तद्नुसार दिन घण्टाको हिसावले भन्नु पर्दा ३६५ दिन ५घण्टा ४८ मिनेट ४७ सेकेण्ड करिव हुन आउंछ भनेर पनि हिसाव निकाले ।
साधारणतः १ सौर वर्ष भनेर ३६५ दिनलाई लिने गरेको छ । अतः ३६५ दिनको एक वर्ष भनेर साधारण वर्षको रुपमा लिइन्छ । तर एक सौर वर्षमा ३६५.२५ दिन हुने हुनाले चारवर्ष पूरा भएपछि ०.२५ गुणा ४ गर्दा पूरा १ दिन हुन आउने भएकोले हरेक ४ वर्षमा ३६५.२५ह्४ गर्दा ३६६ दिन हुन आउंछ । यही कुरालाई ध्यानमा राखेर इसापूर्व ४६ मा रोमका जुलियस सिजरले हरेक चारचारवर्षमा १ दिन थपेर ३६६ दिन भएकोवर्ष मान्ने नियम वसाले । त्यहाँ देखि चौथो वर्षलाई परिवत्सर वा दीर्घवर्षको रुपमा पाश्चात्य विद्वानहरुले लिपयर भनेर लेख्यो । यी प्रत्येक लिपयर वर्षमा फरवरी महिनामा १ दिन जोडी २९ दिनको महिना बनाउने नियम बनाए । यसैलाई पछि जुलियन क्यालेण्डर भनियो ।
१६ औं शताव्दीमा आएर जुलियस सिजरको नियम अनुसार ३६५.२५ दिनको एक सौरवर्ष भनेर गन्दै जाँदा ३६५.२५—३६५.२४२२१८=०.००७७८२ दिन बढ्ता हुंदैजाने रहेछ भन्ने हिसाव तात्कालिक ज्योतिषीहरुले पत्ता लगाए । यसबाट ४०० वर्षमा ०.००७७८२ ह्४००=३.११२८ दिन बढ्ता हुने भनेर हिसाव निकाले ।
त्यसकारण यही हिसावको आधारमा जुलियन वर्ष १५८२ मा रोमको धर्म गुरु पोपग्रेगरीले प्रत्येक ४०० वर्षमा ३ दिन घटाउने नियम बसाले । त्यहाँ देखि जुलियन क्यालेण्डरलाई जुलियन नभनीकन ग्रेगोरियन क्यालेण्डर भन्ने गरियो ।
यही ग्रेगोरियन क्यालेण्डरको नियम अनुसार अंग्रेजी साललाई ४ ले भाग गर्दा भाग शेष रहेन भने परिवत्सर वा दीर्घ वर्ष हुने मात्र होइन अपितु यदि वर्षको संख्यामा पछिल्तिर दुइवटा शून्य भएमा ४०० ले पनि भाग लाग्ने हुनुपर्छ भनी नियम बसाले । यसरी ४००ले पनि भाग गर्दा पनि शेष आएन भने मात्र परिवत्सर वा दीर्घ वर्ष वा लिपयर भनेर मान्नु पर्छ अन्यथा होइन भनेर निर्णय गरियो ।
किनकि जुलियस सिजरको नियम अनुसार इस्वीसन २०००, २१००,२२००,२३०० आदि लाई ४ ले भाग गर्दा सबैमा निशेष आउंछ तर ४०० ले भाग जाने केवल २००० मात्र हुन्छ । त्यसकारण ४०० ले समेत भाग जाने मात्र लिपयर हुने अरु सवै साधारण वर्ष नै ठहरिने भएकोले त्यहाँ उप्रान्त ग्रेगोरियन क्यालेण्डर अनुसारको हिसाव लागु भएको हो । यस हिसावले प्रत्येक ४०० वर्षमा ३ दिन घटेको हुनाले प्रत्येक ४०० वर्षमा ९७ वटा लिपयर मात्र हुनेभयो । यदि जुलियस सिजरको अनुसार गएको भए ४ वर्षमा १ लिपयर हुने १०० वर्षमा २५ लिपयर हुने र ४०० वर्षमा १०० लिपयर हुन आउने हुन्छ । यसरी जुलियन क्यालेण्डर बिस्थापित भएर ग्रेगोरियन क्यालेण्डर लागुहुन गएको हो ।
त्यही ग्रेगोरियन क्यालेण्डर पनि विश्वका थुप्रै देश मध्ये क्याथोलिकले अपनाए तापनि ब्रिटेन लगायत अरु कतिपय प्रोटस्टेण्टहरुले भने मानेका थिएनन् । किनभने प्रत्येक ४०० वर्षमा ०.११२८ दिन जुन बढी हुन जाने थियो त्यसलाई ख्याल गरिएन भन्ने वैज्ञानिकहरुको आपत्ति जनाएकोले गर्दा ग्रेगोरियन क्यालेण्डरमा असहमत नै जारी रहे । त्यति दिन शेष छोड्दै जाँदा प्रत्येक ३६०० वर्षमा ०.११२८ ह् ९= १ दिन प्रायः घटाउनु पर्ने हुन्छ अनि मात्र शुद्धहुन आउंछ भन्दै विभिन्न विद्वानहरु बीच अनेकौं छलफल चल्दाचल्दा इस्वी १७५२ मा आएर टुंगियो ।
त्यतिवेलाको निर्णय अनुसार १७५२ भन्दा अघिको तारिख गणना गर्दा प्राचीन रीतबाट गर्ने र १७५२ देखि नवीन रीतबाट गर्ने गरियो । इस्वी १७५२ सेप्टेम्वरमा जुलियस सिजर देखिको समयको हिसाव गर्दा कहिले दिन घटाउने कहिले बढाउने गर्दा ३७६ दिन थप्नु परेको कारणले गर्दा सेप्टेम्वर २ को भोलिपल्ट सेप्टेम्वर १४ गरेको मात्र नभइ इस्वी १७५१ साललाई नै १७५२ बनाए पछि मात्र शुरु देखिको समय मिलेको ठहराइयो र अव आइन्दा त्यस्तो कुनै संशोधन गर्नु नपर्ने गरियो । यस प्रकार जुलियन क्यालेण्डर र ग्रेगोरियन क्यालेण्डर दुवैलाई संशोधन गरिसकेको कारण अव जुलियन अनुसार यो र ग्रेगोरियन अनुसार यो भनीरहनु नपर्ने भएको हो । तर नेपालका इतिहासकारहरुको दिमागमा भने जुलियन र ग्रेगोरियन क्यालेण्डरको नाम लिने धङ्धङी भने अझैसम्म हटेको पनि होइन र छोडेको पनि होइन ।
यसको असर नेपालमा यसरी देखापरेको छ
जुलियन क्यालेण्डर अनुसार इस्वी ८७९ अक्टोवर २० तारिखको दिन नेपालमा नेपालसंवत् शुरु भएको भन्ने मान्यता सारा विद्वानहरु एक मत जस्तै देखिंदै आएको छ । यतिवेला ग्रेगोरियन क्यालेण्डरको कुनै गुञ्जायस नै छैन । किनभने इस्वी १५८२ भन्दा अघिको समय हो । यस अनुसार नेपालसंवत् इस्वी ८७९ को अक्टोवर देखि ८८० को सेप्टेम्वर सम्म कायम रहनेभए भन्ने कुरा सबैले बुझेकै हुनु पर्दछ । साथसाथै नेपालसंवत् र इस्वीसन बीचको अन्तर त्यतिवेला ८७८ र ८७९ रहेछ भन्ने पनि स्पष्ट छ । यो पनि बुझेकै हुनु पर्दछ कि अहिले नेपालसंवत् ११४४ भनेको इस्वी २०२३ को अक्टोवर देखि २०२४ को सेप्टेम्वर सम्म रहने भएको पनि क्यालेण्डर हेरेरै भन्न सकिने कुरा हो । अव आएर नेपालसंवत् र इस्वी बीचको अन्तर ८७९ र ८८० देखिनु भनेको न त जुलियन सिद्धान्त मुताविक हुने हो न त ग्रेगोरियन मुताविक हुने हो । यहाँनिर यी दुइवटै सिद्धान्त आकर्षित हुने होइन । यो सिद्धान्त आकर्षित भए मुताविक इस्वी १७५१ लाई १७५२ गरेर आए देखि मात्र ८७९ र ८८० अन्तर हुन आएको हो ।
यदि नेपालसंवत् १ हुंदाको समयमा नेपालसंवत्मा ८७८ र ८७९ जोड्ने भएको भए मल्लकाल समाप्त हुंदा नेसं ८८८ भनेको इस्वी १७६६ को कार्तिक देखि इस्वी १७६७ को असोज सम्म रहनु पर्ने तर विदशीहरुले लेखेको इतिहासमा नेसं ८८८ भदौलाई इस्वी १७६८ लेख्दै आएको छ । यो भनेको इस्वी १७५२ पछिको समय जुनवेला ब्रिटेनले जुलियन र ग्रेगोरियन दुवै क्यालेण्डरलाई संशोधन परिमार्जन गरी सकेको समय भएकोले हुनआएको हो ।
विक्रमसंवत्को त आफनो कुनै सिद्धान्त नै छैन । यदि विदेशीहरुले नेपालसंवत् ८८८ भनेको इस्वी १७६६ भन्यो भने त्यसमा ५७ जोडेर विसं १८२३ भन्न थाल्ने, यदि १७६७ भन्यो भने विसं १८२४ भन्न थाल्ने । त्यस्तै उनीहरुले १७६८ लेखी दिएको कारणले यहाँका इतिहासकारहरुले नेसं ८८८ भदौ भनेको विसं १८२५ लेख्न थालेको हुनाले यसलाई कुनै सिद्धान्त आकर्षित भएको मान्न मिल्ने भएन । त्यसकारण नेपालसंवत् शुरु भएको समयमा इस्वी संवत् सित ८७८ र ८७९ अन्तर हुने गरेको र अहिले जुलियन ग्रेगोरियनको संशोधन भइसके पश्चादको भएको हुंदा ८७९ र ८८० को अन्तर हुन थालेको हो । यो कुरा नेपालका इतिहासकारहरुको दिमागमा कहिल्यै घुस्न सकेको देखिएको छैन । यसलाई हामी एउटा बिडम्वनाको रुपमा लिन सकिन्छ ।
निष्कर्ष
इ. १७५१ मा संशोधन परिमार्जन भएको अहिलेको इस्वीसंवत् हो । सोही मुताविक गणना गर्ने पद्धतिको समेत त्यहीवेला आविष्कार भइसकेको हुनाले तद्नुरुप बनेको क्यालेण्डरलाई जुलियन वा ग्रेगोरियन भन्नु उचित होइन । त्यस पद्धतिमा इ.१७५२ भन्दा अघिको मितिलाई प्राचीन रीतबाट गणना गर्ने र पछिको मिति भएमा नवीन रीतबाट गणना गर्ने भनेर दिइएको छ । त्यसकारण इस्वी संवत्को क्यालेण्डरलाई अझै पनि जुलियन र ग्रेगोरियन भनीरहनु जरुरी छैन । यदि भनियो भने अन्योल मात्र श्रृजना हुन्छ ।
१. श्री ५ पृथ्वीनारायण शाहको जन्म मिति नमिलेको सवालमा पहिले इस्वीसन परिमार्जन हुनु अघिको हो या पछिको भन्ने नै निश्चय गर्नु पर्छ । उनको जन्ममिति १७५१ भन्दा अघिको भएको हुनाले प्राचीन रीतबाट गणना गर्नु पर्ने हुन्छ । उनको जन्मबार बृहस्पतिवार हो अतः १७२२ डिसेम्वर २७ भनोस् वा १७२३ जनवरी ७ भनोस् बृहस्पतिवार नै आउनु जरुरी हुन्छ । तर ती दुवै मिति प्राचीन रीतबाट गणना गरियो भने बृहस्पतिवार आउंदैन । त्यसकारण ती मिति कुन रीत पद्धतिबाट गणना गरियो त भन्ने कुराको कुनै अत्तोपत्तो पनि कतै दिइएको छैन । अतः जोसुकै ठूला इतिहासकारले यी मिति सिफारिस गरिएको छ भने पनि त्यो केवल अडकलवाजी मात्र ठहर्दै आएको छ ।
२. इं ७५० देखि १४८२ भित्रका मितिमा पर्ने थुप्रै स्रोतहरुमा भएका मितिहरुको इस्वीसंवत्को मितिमा परिणत गरी ती मितिलाई Verified भएको भनेर लुसियानो पेतेकले प्रस्तुत गरेका छन् । तर उनको प्रस्तुतिमा पनि कुन रीत पद्धतिबाट गणना गरियो त भन्ने कुराको कुनै अत्तोपत्तो कतै दिइएको पनि छैन । त्यसकारण ती मितिहरु कुनै पनि Verified भएको मान्न मिल्दैन । उनले मानेको ख्भचषष्भम मा आइतवार भए Sunday सोमवार भए : Monday त जसले पनि भन्न सक्छ । तारिख पनि अहिलेको पात्रो पल्टाएर ती तिथि कुन तारिख पर्दछ भनी छनोट गरी अडकल गरेर तारिख अंक लेख्दैमा गणना गरेको भन्न मिल्दैन । साल अंक त इ. १७५१ भन्दाअघि नेपालसंवत् र इस्वीसंवत् बीचको अन्तर ८७८ र ८७९ हुनु पर्ने त्यो पनि गरिएको छैन । त्यसकारण विदेशी इतिहासकार भन्दैमा पनि हुंदैन । उनले Verified भनेर दिइएको मितिमा कुनैमा पनि बैज्ञानिकता छैन ।
३. संशोधन मण्डलको मान्यतामा अव भर पर्ने कि नपर्ने भन्ने सवालमा विचार गर्दा उनीहरुको मान्यता त ताक परे तिवारी नपरे गोतामे भने जस्तो मात्र देखिन आयो । किनभने यता लिच्छविकालमा चलेकोसंवत् शकसंवत् र मानदेव संवत् हो पनि भन्ने र त्यही मुताविक शक ८०२मा नेपालसंवत् उठेको भनेर पनि मान्ने कुराले त्यही उखान चरितार्थ हुन आउंछ । यदि होइन भने पेतेकले नेपालसंवत्को उठान शक ८०१ कार्तिक शुक्ल प्रतिपदा र इस्वी ८७९ अक्टोवर २० तारिख भनेको कुरामा पनि समर्थन गरिए पछि आफनो मान्यता स्वतः भत्क्यो भनेर चाल नपाएको किन ? फेरि अर्को सहोत्तर तन्त्रको संवत् ३०१ भनेको इस्वी ८७८ अप्रील १३ आइतवार पर्दछ भनिएको मा समर्थन गरिएपछि आफ्नो मान्यता अनुरुप मानदेव संवत् ३०४ वर्ष चल्यो भन्नेपनि स्वतः भत्क्यो भनेर ख्याल नगर्नु भनेको सुहाउने कुरा होइन । अतः साल मिति संवत्को मामलामा संशोधन मण्डल माथि अव भर पर्दै आउनुको कुनै औचित्य बाँकी रहेन भन्ने स्पष्ट हुन आउंछ ।
प्रतिक्रिया