×

एमाले बैठकमा ठाकुर गैरेको कडा टिप्पणी : ‘सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बने भयो’

images

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै पार्टीका सबै पदाधिकारी खारेज गरेर 'एकल अध्यक्ष' बन्न चुनौती दिएका छन्।

मंगलबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता गैरेले अध्यक्ष ओलीले बैठक सञ्चालनमा स्थापित परम्परा र लोकतान्त्रिक पद्धति तोडेको आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले नै बैठक सञ्चालन गर्ने, स्वागत गर्ने र नाम बोलाउने काम समेत आफैँ गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। "अहिले बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, र नाम पनि आफैं बोलाउने काम भइरहेको छ। यसले पार्टीलाई राम्रो गर्दैन," गैरेले बैठकमा भने, "यदि यसरी नै जाने हो भने अरु पदाधिकारीको के आवश्यकता? सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बनाऔँ र बाँकी सबैलाई सदस्य मात्र राखौँ।"

यसैगरी, उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन नल्याइएकोमा पनि प्रश्न उठाएका छन्। पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा पेस नगरिएसम्म केन्द्रीय समितिमा अरू विषयमा थप छलफल गर्नुको कुनै औचित्य नरहने धारणा उनले राखेका थिए।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एकलौटी ढंगले बैठक सञ्चालन गरेको भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ।

मङ्गलबार ६ असोज २०८३ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया