काठमाडौं। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ। शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्यौलमा परेपछि बिहान बसेकाे बोर्ड बैठकले परीक्षा नराेक्ने निर्णय लिएकाे हाे।
आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघरबानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे।
उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ। साथै शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ। राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक/प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, 'सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन्।' उनीहरूले आन्दोलनकै क्रममा सडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेका हुन्।
विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्। सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन्।
यसैबीच शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन्। उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन्। उनले मन्त्री निवाससमेत छोडिसकेकी छन्।
प्रतिक्रिया