नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताउनुभएको छ ।
पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उहाँले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र सङ्घीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “माओवादीको पहल कदमीमा कांग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो ।” नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो ।
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले भन्नुभयो, “माओवादीले जितेन भने देशको संविधान र सङ्घीयता धरापमा पर्छ ।
अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेण्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुको विकल्प छैन ।” आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया