×

रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले दाङमा नेकपा एमालेको झण्डा जलाइदिएका छन् । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् । रास्वपा कार्यकर्ताको भिडले झण्डा जलाएको भिडिओ सार्वजनिक भएको छ । जसमा उनीहरूले ‘केपी …, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ । दाङ एमालेका महासचिव शंकर पोखरेलको गृहनगर हो ।

यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् । ‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् । भिडियोमा झण्डा जलाउने क्रममा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेको देखिन्छ ।

रास्वपा सभापति लामिछाने बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रम सकेर तुलसीपुर हुँदै घोराही पुगेका थिए । उनको स्वागतका लागि स्थानीय कार्यकर्ताले विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका थिए ।

उक्त घटनाप्रति एमालेका स्थानीय नेता तथा कार्यकर्ताले आपत्ति जनाउँदै यसलाई राजनीतिक असहिष्णुताको उदाहरण बताएका छन् । उनीहरूले लोकतान्त्रिक प्रणालीमा फरक विचार र दलप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस विषयमा रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ भने स्थानीय प्रशासनले पनि घटनाबारे जानकारी संकलन गरिरहेको स्रोतले जनाएको छ ।

शुक्रबार​ ८ फागुन २०८२ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया