काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिएका र काम गरेका व्यक्तिहरू नै आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारको पहिलो प्राथमिकतामा पर्ने स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘गाउँपालिका क्यान्डिडेट क्लब’ सार्वजनिक गर्ने क्रममा सभापति लामिछानेले उक्त धारणा व्यक्त गरेका हुन्।
विगतका निर्वाचनमा हतारोमा उम्मेदवार चयन गर्दा केही त्रुटि भएको स्वीकार्दै लामिछानेले अब भने ‘खल्तीबाट वा नेताको चाकडीका आधारमा’ टिकट नबाँडिने दाबी गरे। उनले भने, "कोठा–चोटामा बसेर कसैलाई दिइएको उम्मेदवारीको आश्वासन आजैका मितिबाट खारेज भएको छ। पार्टीमा पद्धति स्थापित गरिएको छ र पारदर्शी प्रक्रियाबाटै योग्य उम्मेदवारको चयन हुनेछ।"
रास्वपाले आफ्ना कार्यकर्ता र आकांक्षीहरूलाई ‘आरएसपी’ मोबाइल एपमार्फत ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिन आह्वान गरेको छ। आवेदन दिएका व्यक्तिहरूको राजनीतिक क्षमता, कानुनी, सामाजिक र पारिवारिक पृष्ठभूमिको विस्तृत मूल्याङ्कन गरेपछि मात्रै चुनावी मैदानमा उतारिने बताइएको छ। छनोट भएका उम्मेदवारहरूलाई पार्टीले स्थापना गरेको ‘लिडरसिप एकेडेमी’ मार्फत स्थानीय तहको अधिकार, कार्यक्षेत्र र कानुनी प्रक्रियाबारे अभिमुखीकरण तथा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।
प्रतिक्रिया