×

दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

images

काठमाडौं। चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ। पूर्वप्रधानमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं दाहालकै पूर्वसहकर्मी डा बाबुराम भट्टराईले निर्वाचन लड्दै आएको उक्त क्षेत्रको यसअघि पनि चर्चा हुने गथ्र्यो। दुईपटक प्रधानमन्त्री भइसकेका र राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका दाहालको आगमनले त्यो क्षेत्र थप चर्चामा आएको हो।

नेपालको राजनीतिक वृत्तमा करिब दुई दशकदेखि शक्तिशाली भूमिकामा रहँदै दुईपटकसम्म प्रधानमन्त्री बनेका दाहाल नेकपा एमालेका तर्फबाट २९ वर्षीय युवा उम्मेदवार अब्दुस सलाम मियाँसँग प्रतिस्पर्धा गर्दैछन्। लामो समय भूमिगत राजनीतिमा सक्रिय दाहाल २०६३ असारमा बालुवाटारबाट सार्वजनिक हुनुभन्दा पहिले माओवादी अध्यक्षका रूपमा ‘प्रचण्ड’ नामले परिचित भए पनि वास्तवमा ती व्यक्ति अस्तित्वमा छन् वा छैनन् भन्नेसम्मको आशंका हुने गथ्र्यो।

२०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका दाहाल २०४१ सालमा नेकपा (मशाल) को पाचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्युरो सदस्य चयन भएका थिए। २०४६ सालमा नेकपा (मशाल) को महामन्त्री बनेका उनी २०४८ सालमा नेकपा एकता केन्द्रका महामन्त्री भएका थिए। २०५१ सालमा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखेपछि उनले २०५२ सालबाट पार्टीको नेतृत्व गर्दै सशस्त्र युद्ध सुरु गरेका थिए।

मुलुकमा नयाँ व्यवस्थाको स्थापनासँगै स्थिरता र स्थायित्वमार्फत विकासको नयाँ उचाइमा पुर्‍याउने सपना बाँड्दै सशस्त्र युद्धमार्फत प्रभाव स्थापना गर्न सफल माओवादी आन्दोलनले दाहालकै नेतृत्वमा २०६४ सालको संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठुलो दलका रूपमा आफ्नो राजनीतिक अस्तित्व स्थापना गर्‍यो। तर पछिल्लो समय दाहाल सत्ता र शक्तिको खेलमा बढी नै आशक्त हुन थालेपछि माओवादी आन्दोलन अस्तित्वको लडाइँ लडिरहेको छ भने उनी राजनीतिक अस्थिरताको पर्यायजस्तै बनिरहेका छन्।

कास्कीमा जन्मिएर चितवनमा हुर्केबढेका उनले आफ्नो भूमिगत राजनीति रोल्पा–रुकुम र आसपासमा रहेर अघि बढाए। तीन दशकभन्दा बढी पार्टीको मुख्य भूमिकामा रहेका उनी निर्वाचन लडेर जितेका ठाउँका जनताको विश्वास प्राप्त गर्न नसक्दा हरेक निर्वाचनमा कहाँबाट उठ्ने भन्ने सन्तापमा हुन्छन्।

गोरखामा दाहालसँग प्रतिस्पर्धा गर्न लागेका प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवार मियाँ उनको पार्टीकै कान्छा उम्मेदवार भएको दाबी गरिएको छ। राष्ट्रिय राजनीतिमा पहुँच र अनुभवका हिसाबले उनी दाहालका अगाडि कमजोर उम्मेदवार हुन्। वैकल्पिक राजनीति गर्ने भन्दै विवेकशील साझा पार्टीबाट राजनीति सुरु गरेका उनी हालै मात्र एमालेमा प्रवेश गरेका हुन्।

युवासँग सम्बन्धित केही संस्थामा नेतृत्वदायी भूमिकामा रहेका उनले अमेरिकालगायत मुलुकबाट अन्तर्राष्ट्रिय कोर्सहरू पनि गरेका छन्। उनी आफूले संसारका विकसित देशहरूको शासन प्रणालीको अध्ययन गरेको र त्यसलाई नेपालमा कसरी लागु गर्न सकिन्छ भनेर लागिपरेको बताउँछन्। त्यसका अतिरिक्त उनीसँग युवा जोस छ भने उनी गोरखाकै स्थानीय बासिन्दा पनि हुन्। नागरिक दैनिकबाट

सोमबार ३१ असोज २०७९ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया