काठमाडौँ, ३१ साउन । नेपाल आयल निगमको समन्वयमा आज (आइतबार) काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री वितरण गरिँदै छ । बजारमा ग्यासको अभाव झेलिरहेका अत्यावश्यक उपभोक्तालाई राहत दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा यो विशेष व्यवस्था मिलाइएको हो ।
निगमका अनुसार ग्यास खरिद गर्न चाहने उपभोक्ताले आफ्नो नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ । ग्यास बिक्री वितरण कार्य बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
ग्यास बिक्री हुने ७ तोकिएका स्थानहरू र ब्रान्ड विवरण:
१. टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर: यहाँ नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।
२. बूढानीलकण्ठस्थित पशु सेवा शाखा, चपली: यहाँ नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
३. कीर्तिपुरस्थित राधास्वामी परिसर: यहाँ नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका सिलिन्डर पाइनेछन् ।
४. नयाँबजारस्थित जुडो हल परिसर: यहाँ उपभोक्ताले नेपाल, एचपी र ओम ब्रान्डका ग्यास खरिद गर्न सक्नेछन्।
५. तारकेश्वर नगरपालिका परिसर: यस केन्द्रबाट नेपाल र एचपी ब्रान्डका ग्यास वितरण गरिनेछ ।
६. चन्द्रागिरि नगरपालिका कार्यालय परिसर: यहाँ लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।
७. ठिमी (भक्तपुर) स्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसर: यस केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका सिलिन्डर बिक्री गरिनेछ।
नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति र आयात हाल नियमित भइरहेको दाबी गरेको छ । यद्यपि, केही प्राविधिक सहजता र बजार सन्तुलनका लागि यो कदम चालिएकाले वास्तविक अभावमा परेका उपभोक्ताहरूलाई मात्र तोकिएका केन्द्रमा आवश्यक कागजातसहित आउन निगमले आग्रह गरेको छ। ग्यास उद्योगीहरूले आफ्ना आधिकारिक विक्रेतामार्फत पनि नियमित आपूर्ति गरिरहेको हुँदा उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न सूचित गरिएको छ ।
प्रतिक्रिया