×

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रदूषित

images

काठमाडौँ, २९ भदौ : भाद्र कृष्ण औँसीका अवसरमा बिहीबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण त्यस क्षेत्रमा जम्मा भएको फोहर अझै सफाइ हुन सकेको छैन । 

पर्वका अवसरमा भक्तजन आउनुका साथै त्यस क्षेत्रमा लागेको मेलाका कारण गोकर्णेश्वर मन्दिर क्षेत्रमा प्लाष्टिक झोलालगायत फोहर थुप्रिएको छ । फोहर शुक्रबार बेलुकीसम्म पनि नउठ्दा प्रदूषण फैलन थालेको स्थानीयवासी सुवास श्रेष्ठले गुनासो गर्नुभयो । मन्दिर क्षेत्रको रेखदेखलगायत व्यवस्थापन गर्दै आएको गोकर्णेश्वर मन्दिर क्षेत्रले सफाइमा ध्यान नदिएको स्थानीयवासी एवं भक्तजनको गुनासो छ । 

समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत शुक्रबार बिहानैदेखि फोहर व्यवस्थापनमा लागिए पनि सबै काम भने नसकिएको बताउनुहुन्छ । शनिबारसम्ममा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको गोकर्णेश्वर मन्दिर क्षेत्रलाई स्वच्छ एवं सुव्यवस्थित बनाइने समितिले जनाएको छ ।

बाबुको मुख हेर्ने दिन पिताको मृत्यु भइसकेका भक्तजन गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आएर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातनदेखिको परम्परा छ । यसो गरेमा २१ कुलका पितृ तर्ने धार्मिक विश्वास रहेको छ ।

शुक्रबार​ २९ भदौ २०८० ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया