×

भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै

images

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले दुई हजार २१२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रमुख पदमा नेकपा (एमाले)का विजय सुवेदीले दुई हजार १८९ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत प्राप्त गर्नुभएको छ । दाहालले २३ मतले अग्रता कायम गर्नुभएको हो ।

उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ४३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी राप्रपाकी हिमला गुरुङ्ले एक हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

वडा नं २ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मनोज रानाभाटले एक हजार २४९ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण केसीले एक हजार २२५ मत प्राप्त गर्नुभएको छ ।

सो वडामा दुई हजार ९०० मत गणना भएको छ । वडामा कूल चार हजार ८०८ मत खसेको छ । यसअघि वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुभएको थियो ।   
 
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर,  खैरहनी, कालिका, राप्तीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

आइतबार​ १ जेठ २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया