काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका १ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ८० प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ८० प्रतिशत ‘ड्रिलिङ’ को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।
चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँको अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् ।
चार हजार मिटरदेखि चार हजार पाँच सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुर्याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियानअन्तर्गत यो कार्य सञ्चालनमा छ ।
अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् । अझै यकिन भन्न सकिने अवस्था त छैन, तर जमिनमुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिएअनुसार केही लिकेज ग्यासहरू देखिएको छ । यसले सकारात्मक संकेत गरेकाे अधिकारीहरू बताउँछन् ।
चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया