×

माओवादीको निष्कर्ष- उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गर्‍यो, ओलीको चीन भ्रमण सफल देखिएन

images

काठमाडौँ — नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले उपनिर्वाचनमा उत्साहपूर्ण नजिता आएको र अहिलेको नजिताले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

साथै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निश्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिले विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने वातावरण बनाउने निर्णय पनि गरेको छ ।

‘माओवादी केन्द्रमा प्रवेश गरेका व्यक्तिलाई उचित जिम्मेजारी दिने निर्णय भएको छ,’ स्थायी समिति सदस्य कमला रोकाले भनिन्, ‘त्यसका लागि सम्बन्धित समितिले आवश्यक गृहकार्य गर्ने कुरा भएको छ । पुस २ मा हुने भएको केन्द्रीय समितिको बैठक तयारी नपुगेको भन्दै पुस २१ मा सार्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्ताबेज लेख्न समय नपुगेको भन्दै केन्द्रीय समिति पर सार्नुपरेको जानकारी दिएका थिए ।

बैठकमा दाहालले स्थानीय तहको उपनिर्वाचनले उत्साह थपेको भन्दै सुशासन, भ्रष्टाचार विरोधी मुद्दालाई अझै सशक्त ढंगले अघि बढाउनु पर्ने बताए । ‘यो उपनिर्वाचनमा जनताले माओवादीलाई रुचाएको फाइएको छ । अभै हामीले हाम्रो एजेण्डालाई सशक्त ढंगले लैजानुपर्ने छ,’ दाहालले भने । साथै बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको छ ।

‘अहिलेको (उपनिर्वाचन) नतिजा दुई दलीय व्यवस्थातिर जुन सोचिरहेका थिए, त्यसलाई खण्डित गरेको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उपनिर्वाचनबाट सिट बढ्नुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको अनुमोदन भएको पनि निष्कर्ष निकालेको छ ।

‘सरकारलाई अन्य कुरामा पनि दबाब सिर्जना गरेको छ । चुनौती खडा गरेको छ,’ सापकोटाले भने, ‘सरकारले भ्रष्टाचार विरोधीहरूलाई संरक्षण गर्ने, विचौलिया र दलालको पक्षमा नीति निर्माण गर्ने काम गरेको थियो । त्यसलाई रोक्न मद्दत गरेको छ ।’ उपनिर्वाचनको नतिजालाई पार्टीका नेता–कार्यकर्ता अब जनतासँगै फर्कनुपर्छ भन्ने सन्देशका रुपमा लिनुपर्ने पनि माओवादीको निचोड छ ।

‘समीक्षाको सारमा अहिलेको मतले उत्साहपूर्ण नतिजा आएको छ, सबै नेता कार्यकर्ता र जनतासँगै फर्कनुपर्छ भनेका छन्’, प्रवक्ता सापकाटाले भने ।

बैठकले सरकारले गरेको निर्णयप्रति असन्तुष्टि पनि जनाएको छ । ‘सरकार अधोगतीतिर धकेल्दै छ । सरकारले राम्रो काम गर्नबाट अवरोध सिर्जना गरेको छ,’ सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले आफूलाई नाफामा लगेको छ । त्यहाँ बिजुलीको महसुल नतिरेकालाई लाइन काट्न हुँदैन भनेर प्रधानमन्त्रीदेखि नै निर्देशन भएको छ । यो सर्वथा गलत छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’

साथै बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको छ ।  बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको  सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए । ‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो  म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्त्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन’, प्रचण्डको भनाई उदृद्ध गर्दै उपमहासचिव हरिबोल गजुरेलले बताए । 

यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको  हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिए । यसअघि २० गते बसेको  पदाधिकारी बैठकमा प्रचण्डले बीआरआई सम्झौताबारे अध्ययन गरेरमात्रै जवाफ दिने बताएका थिए ।

शुक्रबार​ २८ मंसिर २०८१ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया