×

शास्त्र भनेको देखाउने दाँत हो र ?

images

शास्त्रहरुमा योछ उछ भन्न जानेको पण्डितले आफू स्वयंले पनि ती शास्त्रमा भनिएका कुरा  पालना गर्न जानेको हुनैपर्छ । होइन भने त्यो देखाउने दाँत भने जस्तै मात्र हुन्छ । लिच्छविसंवत्को निर्णय नामक ६४० पृष्ठको पुस्तकमा शास्त्रहरुमा भनिएका कुराहरु अघि सारिएका छन् । तर ती शास्त्रमा भएका कुरा स्वयं लेखकले  कुनै पनि पालना गरेको देखिएन ।

लिच्छविकालका अभिलेख नामक ग्रन्थमा पौष र आषाढमा मात्र अधिमास उल्लेख पाइन्छ भन्नेबारे इतिहासकार धनवज्र वज्राचार्यको भनाई यस्तो छ ।

आषाढ र पौषमा मात्र अधिकमास  पर्ने लिच्छविकालको यो पद्धति पछि मल्लकालसम्म पनि प्रचलित थियो ।श्रीलुसियानो पेटेकले यस अधिकमास पद्धतिबारे महत्वपूर्ण प्रकाश पार्नु भएको छ । राष्ट्रिय अभिलेखालयमा रहेको धर्मनिर्णयतिथिसारसंग्रह आदि ग्रन्थबाट यस अधिकमास पद्धतिबारे प्रकाश पर्छ । भारततिर यस किसिमको अधिकमास पद्धतिको उल्लेख पाइएको छैन । यस पद्धतिको प्रसार हाम्रो यतै भएको हो कि भन्ने देखिएको छ । नेपालीहरु पात्रो बनाउने काममा सिपालु छन् भन्ने कुराको उल्लेख चीनियाँ ताङ्वृतान्तमा पाइन्छ । यस्तो प्रसिद्धि किन भयो; यो खोजको विषय छ ।

                                                                                                                                                                                                                                                    (लिच्छविकालका अभिलेख १२१ पृष्ठ )

यसरी आषाढ र पौषमा मात्र अधिकमास पर्ने पद्धतिको बारे कसैले कुनै कुरा बोल्न सकिरहेका अवस्था नभइ रहँदा पं नयराज पन्तले पहिलो चोटी मुख खोलेको देखिन आयो ।

यजुर्वेदज्योतिष अनुसारः
माघशुक्लमा प्रारम्भ भइ पौषकृष्णमा समाप्त हुने पञ्चवर्षात्मक युगको कालको विषयमा बताइन्छ । धनिष्ठा नक्षत्रको आदिमा रहेका चन्द्रमा र सूर्य जुनवेला आकाशमा उदाउंछन्,त्यसै वेला पञ्चवर्षात्मक युगको माघ(तपा)शुक्ल पक्षको उत्तरायणको प्रारम्भ हुन्छ ।

 

                                                                                                                                                                                                                                                       (लिच्छविसंवत्को निर्णय ३५ पृष्ठ )
वेदाड्डज्योतिष अनुसार
अढाई वर्षको अन्त्यमा  ग्रीष्ममा एउटा र ५ वर्षको अन्त्यमा  एउटा थरी पञ्चवर्षात्मक युग भित्र दुइटा अधिमास पर्छन्, ज्येष्ठ र आषाढ ग्रीष्म हुन् भनी कौटल्यले लेखेकाले कौटल्यका  प्राचीन टीकाकार भट्टस्वामीले पञ्चवर्षात्मक युगभित्र आषाढमा एउटा र पौषमा एउटा गरी दुइटा अधिमास पर्छन् भनी लेखेका छन् । माघ देखि शुरु भइ पौषमा टुंड्डिने पञ्चवर्षात्मक युगको माझमा  एउटा र अन्त्यमा एउटा गरी दुइटा अधिमास पर्छन् भनी वेदाड्डज्योतिषमा लेखिएकोले माघ देखि शुरु भइ पौषमा टुड्डिने पञ्चवर्षात्मक युगको माझ आषाढमा र अन्त्य पौषमा हुने हुनाले वेदाड्डज्योतिषकार को अभिप्राय आषाढ र पौषमा  अधिमास पर्छ भन्ने हो भन्ने कुरामा केही शङ्का रहँदैन ।
                                                                                                                                                                                                                                                          (लिच्छविसंवत्को निर्णय ४५ पृष्ठ )

सूर्यघाटको अभिलेख र चाँगुको अभिलेख अनुसार
सूर्यघाटको अभिलेखबाट संवत् ४२७ को आषाढमा  मानदेव बितिसकेका देखिएका र चाँगुको अभिलेखबाट संवत् ४२७ को कार्तिकमा मानदेव राज्य गरिरहेका देखिएकाले मानदेवहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो भने देखिन आउंछ । 
                                                                                                                                                                                                                                                           (लिच्छविसंवत्को निर्णय ९३ पृष्ठ )

सुमतितन्त्र अनुसार
 ......मानदेवदेखि अंशुवर्मा सम्मका नेपालका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् वि.सं १३५ देखि उठेको शकसंवत् हो भन्ने र अंशुवर्माको समयदेखि व्यवहारमा आएको संवत्चाहिं वि.सं ६३३ देखि उठेको मानदेवसंवत् हो भन्ने कुरा देखियो । हामीले स्पष्ट पारेको यस सिद्धान्तको पुष्टि गरिदिने सबभन्दा बलियो प्रमाण सुमतितन्त्र नै हो । सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो ।
                                                                                                                                                                                                                                                              (लिच्छविसंवत्को निर्णय १२१ पृष्ठ )

....मानदेवको चाँगुको अभिलेखको संवत् ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा ( सोअभिलेख ज्येष्ठको भएकोले ३८६+१३५+१ = ५२२ हुने हुनाले )यसको समय वि.सं ५२२ देखिन्छ ।
                                                                                                                                                                                                                                                               (लिच्छविसंवत्को निर्णय ९६ पृष्ठ )

अंशुवर्मादेखिका अभिलेखमा देखिएका संवत् अनन्तलिंङ्गेश्वरको नरेन्द्रदेवको अभिलेखबाट र गणनाबाट पनि कार्तिकादि हो भन्ने कुरा हामीले अघिनै प्रतिपादन गरिसकेकाले मानदेवहरुले व्यवहार गरेको संवत् पनि कार्तिकादि नै होला भन्ने कुरामा बढ्ता बल आउंछ ।
                                                                                                                                                                                                                                                            (लिच्छविसंवत्को निर्णय ९४ पृष्ठ )
भक्तपुर इनायचो टोलको अभिलेखबाट
                                                                                                          संवत् ३१ द्वितीयपौष शुक्लाष्टम्याम्

                                                                                                                                                                                                                                             (लिच्छविकालका अभिलेखको ३१५ पृष्ठ)
अंशुवर्मा देखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो यसकारण अभिलेखको संवत् वि.सं ६६४ को कार्तिक देखि वि.सं ६६५ को आश्विनसम्म रहन्छ ।

विक्रमसंवत्बाट १३५ घटाए शकसंवत् आउंछ । यसकारण वि.सं ६६४(=६६४—१३५)=शकसंवत् ५२९ हुन्छ ।यसकारण अभिलेखको संवत् ३१ शक ५२९ कार्तिक देखि ५३० आश्विन सम्म रहन्छ ।वेंकटेश केतकरको सौरार्यब्राम्हपक्षीय —तिथिगणितमा छापिएको अधिमास क्षयमास सारणीमा शकसंवत् ५३० को ज्येष्ठमा अधिमास छ ।सो अधिमास अभिलेखको संवत् ३१ ज्येष्ठमा पर्छ ।                                                                                                                                                                                                                                                                                                                       (लिच्छविसंवत्को निर्णयको ९ पृष्ठ)

माथिका उद्धरणहरु अनुसार चाहे यजुर्वेदज्योतिषबाट भनौं , चाहे वेदाङ्ग ज्योतिषबाट भनौं जुनसुकै संवत्को व्यवहार नेपालमा भएको देखियो भने पनि त्यो माघबाट शुरु भएको संवत् हुन जरुरी भयो । तर लिच्छविकाल देखि अहिलेसम्म नेपालमा माघबाट शुरु भएको संवत् चलेको उदाहरण भनौं या प्रमाण एउटा पनि छैन ।  

त्यस्तै गरि चाहे सूर्यघाटको अभिलेख भनौं चाहे चाँगुको अभिलेख भनौं वा अनन्तलिंगेश्वरको अभिलेख नै भनौं  लिच्छविकालमा चलेको संवत् जुनसुकै होस् त्यो कार्तिकादि संवत् नै हो भनी सकारिएको छ । जव यजुर्वेदज्योतिष र वेदाङ्ग ज्योतिष को शास्त्र वचन अघि सार्न जानेको पंडितले लिच्छविकालमा नेपालमा माघादि वर्षको प्रचलन थियो भनेर पो सिद्ध गर्नु पर्दथ्यो । त्यसवेला कार्तिकादि संवत्को प्रचलन थियो भनेर सिद्ध गरेको मात्र देखियो किन ? यसरी दुनियाँलाई दिग्भ्रमित पार्न  हुंदैन । 

वेदाङ्ग ज्योतिषमा आषाढ र पौषमा अधिमास पर्छ त्यो पाँच वर्ष भित्र अढाइवर्षको अन्तमा र पाँचवर्षको अन्तमा पहिलो ग्रीष्म र अर्को पौषमा गरी दुई चोटी अधिमास पर्छ भनी शास्त्रमा दिइएको कुरा अघिसारेको छ ।  यो कुरा अभिलेखले नै ठाडै इन्कार गरेको छ ।  किनकि

 १. भक्तपुर इनाय्टोलको अंशुवर्माको अभिलेख जसमा संवत् ३१ द्वितीय पौष शुक्लाष्टम्याम् छ ।
२. पाटन सुनधाराको अंशुवर्माको अभिलेख जसमा संवत् ३४ प्रथमपौष शुक्ल द्वितीयायाम् छ ।

यी अभिलेखहरुमा तीन वर्ष भित्र नै दुइटा अधिमास परेको र ती दुवै पौषमा परेको प्रत्यक्ष प्रमाणले गर्दा नै वेदाङ्ग ज्योतिषको औचित्य समाप्त भएको सिद्ध हुन्छ । यसको आधारमा नयराज पन्तले आफनो निर्णयमा वेदाङ्ग ज्योतिषशास्त्रलाई केवल देखाउने दाँतको रुपमा मात्र प्रयोग गरिएको प्रष्ट हुन्छ ।

माथिका उद्धरणहरुबाट लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेव संवत् हो यो सिद्धान्तलाई सुमतितन्त्रले बढ्ता बल दिएको भनिएको छ । यी संवत्हरु अन्यत्र देशमा चाहे माघादि होस, चाहे चैत्रादि होस् तर नेपालमा यी दुवै संवत् कार्तिकादि थियो भनेर त सकारिए कै छ । 


अनन्तलिंगेश्वरको अभिलेख अनुसार कथित मानदेव संवत् कार्तिकादि त भइयो तर शकसंवत्लाई के भनेर सिद्ध गर्ने ? ताकि वेदाङ्ग ज्योतिष अनुसार शकसंवत् माघादि हुनुपर्ने,  अभिलेखले कार्तिकादि सिद्ध गरिरहेको हो । सुमतितन्त्र र गणना अनुसार शकसंवत् चैत्रादि देखाइएको छ । तव शकसंवत्को पहिचान के हो त ? नयराज पन्तले वेदाङ्ग ज्योतिषको चश्मा लगाउंदा माघादि देखिने , अभिलेखको चश्मा लगायो भने कार्तिकादि देखिने र सुमतितन्त्रको चश्मा लगाउंदा चैत्रादि देखिने तर आफनो विवेकको चश्माले हेर्दा कुन देखिने हो त्यो भने बताइएको छैन । एउटा शकसंवत्को पहिचान तीनवटा त हुनु भएन ? यो अत्यन्त रणभुल्ल अवस्थामा छोडिएको छ । यसरी दुनियाँलाई दिग्भ्रमित पार्न पाईंदैन । 


राष्ट्रिय अभिलेखालयमा रहेको धर्मनिर्णयतिथिसारसंग्रह भनेको के हो यसले के बताउंछ?

यस धर्मनिर्णयतिथिसारसंग्रहमा अधिमासको विषयमा चर्चा गर्दा एउटा नारद मत दिइएको छ भने अर्को भारद्वाज मत दिइएको छ । 

नारद मत अनुसार
१चैत्र, २वैशाख, ३ज्येष्ठ , ४आषाढ, ५श्रावण , ६भाद्र  यी ६ महीना भित्र परेको जुनसुकै अधिमास हो  त्यो आषाढ महीनामा लगेर मनाउनु भनिएको छ । अर्को  ७आश्विन,८कार्तिक,९मंसिर,१०पौष, ११माघ, १२ फाल्गुन यी ६ महीना भित्र परेको जुनसुकै अधिमास हो त्यो पौष महीनामा  लगेर मनाउनु भनिएको छ । यसबाट नारद मत भनेको कुनैपनि चैत्रादि वर्षको संवत् भएमा त्यहाँ मात्र लागु हुने रहेछ भन्ने बुझाउंछ । कार्तिकादि संवत्लाई यो मत आकर्षित हुंदैन भन्ने स्पष्ट छ ।

भारद्वाज मत अनुसार

१श्रावण, २भाद्र,३ आश्विन,४कार्तिक,५मंसिर६ पौष यी ६ महीना भित्र परेको जुनसुकै अधिमास हो  त्यो आषाढ महीनामा लगेर मनाउनु भनिएको छ । अर्को ७माघ,८फाल्गुन,९चैत्र१०वैशाख,११ज्येष्ठ,१२आषाढ यी ६ महीना भित्र परेको जुनसुकै अधिमास हो त्यो पौष महीनामा  लगेर मनाउनु भनिएको छ । 

यसबाट भारद्वाज मत भनेको कुनैपनि श्रावणादि वा माघादि वर्षको संवत् भएमा त्यहाँमात्र लागु हुने रहेछ । यो पनि  कार्तिकादि संवत्मा आकर्षित हुंदैन भन्ने स्पष्ट छ । माथि उल्लेखित उद्धरण अनुसार अंशुवर्मादेखिका अभिलेखमा देखिएका संवत्  पनि कार्तिकादि हो मानदेवहरुले व्यवहार गरेको संवत् पनि कार्तिकादि नै हो भनिएको छ । अतः यहाँ धर्मनिर्णयतिथिसासंग्रह लागु हुंदैन भन्ने प्रष्ट हुन्छ । किनकि त्यो ग्रन्थमा कार्तिकादि संवत् पनि हुन्छन् त्यस प्रकारको पद्धतिमा कस्तो हुन्छ भन्ने कुनै व्याख्या दिइएकै छैन । 

संवत् ३१ द्वितीय पौष शुक्लाष्टम्याम्  यसमा दिइएको अधिमास शक ५३० ज्येष्ठमा परेको आधारबाट हेर्दा शक ५३०ज्येष्ठमा परेको अधिमास पौषमा परेको भनेर लिनु भन्दा पहिला भारद्वाज मत माघादि वर्षमा मात्र आकर्षित हुनेहो अरुमा हुने होइन भनेर बुझ्न जरुरी हुन्छ ।  

संवत् ३४ प्रथमपौष शुक्ल द्वितीयायाम् यसमा दिइएको अधिमास शक५३३ वैशाखमा परेको आधारबाट हेर्दा शक ५३३ वैशाखमा परेको अधिमास पौषमा परेको भनेर लिनु भन्दा पहिला भारद्वाज मत माघादि वर्षमा मात्र आकर्षित हुनेहो अरुमा हुने होइन भनेर बुझ्न जरुरी हुन्छ । यदि भारद्वाज मत माघादि वर्ष र कार्तिकादि दुवै वर्षमा लागू हुन्छ भन्ने व्याख्या छ भने कुन शास्त्रको कुन दफामा  गरिएको छ सोको खुलासा हुनु पर्दछ । तर त्यो शास्त्र अघि सार्न जानेको नयराज पन्त स्वयंबाट  कतै छ भनी देखाइएको छैन । यसमा लुसियानो पेटेकले पनि कुनै खुलासा गरेको छैन ।
 

समस्या
समग्रमा हेर्दै गर्दा लिच्छविसंवत्को निर्णयमा देखा परेको समस्या के रहेछ त भन्ने कुराको झलक आइसकेको छ । लिच्छविकालमा प्रचलित संवत् एकातिर कार्तिकादि संवत् हो भनी  सकार्ने अर्को तिर वेदाङ्ग ज्योतिष लाई प्रमाण भनेर माघादि वर्ष अनुसार यो हो भनेर देखाउनुको कुनै तूक छैन । अर्को बेतूक कुरा वेदाङ्ग ज्योतिषमा पाँच वर्षमा दुइवटा अधिमास पर्छ त्यो पनि एउटा आषाढमा अर्को पौषमा पर्छ भनेको छ भने अभिलेख प्रमाणले तीन वर्ष भित्रै दुइवटा अधिमास परेको र त्यो पनि दुवै अधिमास पौष मै परेको छ ।

शकसंवत् कहीं माघादि होला, कहीं चैत्रादि होला ,त्यही आधारमा कार्तिकादि शकसंवत् नहोला भन्न सकिन्न भन्नु भन्दा पहिला लिच्छविकालमा चलेको संवत् कार्तिकादि भए पछि शकसंवत् पनि कार्तिकादि मान्नु पर्ने भएको होला । तर अभिलेखमा भएको संवत् ३१ भनेको शक ५२९ को कार्तिक देखि शक ५३० को आश्विन सम्म रहन्छ र अभिलेखको संवत् ३०१ भनेको शक ७९९ को कार्तिक देखि शक ८०० को आश्विन सम्म रहन्छ भनी गणना गर्नुले शकसंवत् कार्तिकादि कुनै हालतमा ठहरिंदैन । के यो  हेलचेक्र्याई गर्ने विषय हो र ? 

चाहे सुमतितन्त्रलाई अघि सारुन् चाहे गणनालाई अघि सारुन त्यसले शकसंवत् चैत्रादि नै सकारेको ठहर्छ तव अभिलेखमा भएको लिच्छविकालमा चलेको संवत् विशुद्ध कार्तिकादि नै हुन् । त्यसकारण शास्त्रहरु देखाउनुको अर्थ के ? लिच्छविकालको अभिलेख तात्कालिक स्रोत हुन भने शास्त्रहरु परवर्तिकालमा लेखिएको हो कि ? सुमतितन्त्र सारिएको मिति नेपाल संवत् ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार भनेर लिच्छविसंवत्को निर्णयको पृष्ठ १२२ मा दिइएकैबाट प्रष्टै छ । बिरालोको घाँटीमा घण्ट झुण्डाउनु पर्छ भन्नु भन्दा कसले झुण्डाउन जान्छ त्यो महत्वपूर्ण भने जस्तै शास्त्रमा यो छ उछ भन्नु भन्दा त्यो शास्त्र अनुसार पुष्टी गर्न सक्नु महत्वपूर्ण कुरा हुन् । लिच्छविसंवत्को निर्णय भनेको के हो त ? भन्दा त्यसमा शास्त्रका कुरा अघिसारेको देखिन्छ तर अभिलेखमा भएको मितिको पुष्टि भने कुनै पनि गरिएको छैन यही नै मुख्य समस्या हो ।
 

निष्कर्ष
न्याय नपाए गोर्खा जानु  भन्ने उखान सरह संवत् तिथिमितिको विषयमा केही विवाद जस्तो देखा पर्न आए भने नयराज पन्तको लिच्छविसंवत्को निर्णय हेर्नु न त्यसमा अवश्य होला भन्दै उपबुज्रुकयाई गर्ने मान्छेहरुको यहाँ कुनै कमि छैन । किनभने नयराज पन्तले एउटा अधिमासलाई शक ५२९ मा पनि देखाउने र शक ५३० मा पनि देखाउने गरी दिंदा विवाद चर्केको हो । मानिसहरु यस्तो भूल त्यत्रो विद्वान कहलिएको विभिन्न पुरस्कारद्वारा विभूषित  भइसकेका व्यक्तिले गरेको होला र ?यो हुनै सक्तैन भन्ने अटल विश्वास राखी आएको मात्र हो । त्यसतो अटल विश्वास आफनो ठाउंमा होला तर  एउटै अधिमास दुइ ठाउमा देखाएको कुरा हर हमेशा त्यो भूल , वास्तवमा भूलै भएरै रहेको छ  ।

त्यो भूललाई त्यो विश्वासले मेटाउन सकिन्न । ती भूल यथावत् रही रहेको हुने हुनाले सूझबूझ केही राख्नु छैन त्यत्तिकै त्यो किताव हेरन भनेर भन्नु खाली बेतूकका कुरा हुन्  । न उनीहरुले वेदाङ्ग ज्योतिष बुझेको छ, न सुमतितन्त्र न अभिलेख प्रमाण केही बुझेको छैन भन्ने प्रष्ट छ । तथापि डुब्न लागेको मान्छेलाई परालको त्यान्द्रो पनि सहारा भने जस्तै अधिमास भएको वर्षमा १३ महीना  हुन्छ भन्ने एउटा कुरा समातेको छ त्यो कतिञ्जेल टिक्ने होर? किनकि यसपाली २०८० सालको पात्रोमा श्रावण १ गते र भाद्र १ गतेको बीचमा सिंगै चान्द्रमास परेकोले त्यो अधिमास भएको स्पष्ट छ । यो वर्षको वैशाख देखि चैत्र सम्म महिना गन्दा १२ महिना  नै छ १३ महिना छैन र वैशाख देखि चैत्रसम्मको दिन गन्ती पनि ३९० छैन । अधिमास भएको वर्षमा १३ महिना हुने र ३९० दिन हुने कुरा अनर्गल नभनेर के भन्ने ? 

त्यस्तै गरि   शक ५२९ को वर्षमा अधिमास छैन , अधिमास नभएको वर्षमा  ३० दिन थपेर गणना गर्दा सिद्धान्त सवै खलबलिएको पनि होस नभएकाहरु बडा ठूलठूला कुरा गर्न थालेका छन् । जव शास्त्र भनेर जसले अघिसार्छ उसैले त्यसको प्रयोग गरेको  छैन  भन्नेसम्म पनि बुझेको छैन । त्यसरी सूझबूझ नभएकाहरुले अरुलाई दिन र तिथि भनेकै नबुझ्ने भन्दै गिल्ला  गर्दै हिंडनु भनेको स्वयं कति उपहास जन्य छन् । त्यो विद्वता देख्दा दया मात्र लाग्छ । 

आइतबार​ २८ साउन २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया