×

संवैधानिक निकायका रिक्त सबै पदमा शुक्रबार नै सिफारिस गरौँ- प्रचण्ड

images

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव भए शुक्रबार नै सिफारिस गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन भनेका हुन् । उक्त छलफलमा प्रचण्डले सम्भव भएसम्म सबै संवैधानिक निकायमा भोलि नै नाम सिफारिस गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जानकारी दिएको छ। 

‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त भयो,’ सचिवालयले भन्यो।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‍मा प्रतिपक्षी दल निर्णायक देखिएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा रहने परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख गरी ६ सदस्यीय हुन्छन् । त्यसमध्ये प्रमुख प्रतिपक्षमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि माओवादी पृष्ठभूमिका हुन् ।

बिहीबार २७ भदौ २०८१ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया