×

भक्तपुरमा पञ्चदान पर्व मनाइँदै

images


भादगाउँ, २६ भदौ ः भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा पञ्चदान पर्व  मनाइएको छ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदानमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइन्छ ।
दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठीको पूजा सकेपछि नगर परिक्रमा गराइन्छ ।

स्थानीयवासीले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र  भिक्षुलाई भिक्षा दान गर्नाका साथै पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि चढाइएको थियो । पञ्चदानलाई स्थानीय भाषामा पञ्जरां भनिन्छ । ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ । 


दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्दछन् । दीपङ्कर बुद्धलाई परम्परागत गँुला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गराइन्छ । बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनाका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ । 

मङ्गलबार २६ भदौ २०८० ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया