×

यो भ्रष्टहरूको सरकार -प्रचण्ड

images

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार नै भ्रष्टहरुको सरकार भएको भन्दै गलत गरेर हेरेर नबस्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमानको संज्ञा दिए । पार्टीको कार्यक्रममा सहभागी हुने सुर्खेत पुगेका दाहालले पत्रकारहरुसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकार अपारदर्शी रहेको पनि आरोप लगाए । तर, आफूहरु सरकार ढाल्ने पक्षमा नभएको उनको जिकिर छ । उनले भने,‘यो सरकार अपारदर्शी छ । जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। यो सरकार भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’

सो क्रममा उनले आफूले गिरीबन्धु टि–स्टेटको विषयलाई सदनदेखि सबैतिर उठाएको र अहिले अदालतमा पनि सो विषयमा रिट परेकोले गम्भीर रुपमा अदालतले हेर्ने विश्वास दिलाए । दाहालले सरकारले ल्याएका अध्यादेश गलत रहेको भन्दै आफ्नो दलले साथ नदिने स्पष्ट पारे ।  प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।

साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।’ प्रचण्डले पार्टीभित्र अहिले कुनै समस्या नभएको प्रस्ट पारे । ‘विद्यार्थी संगठनको चुनावलाई लिएर मिडियामा आएको सबै विषय सत्य हैन,’ उनले भने, ‘सबै माओवादीकै विद्यार्थी हो । अहिले राम्रो काम गर्नेगरी अघि बढिरहनु भएको छ ।’

एमाले उपाध्यक्ष ‘बादल’ले जनयुद्धलाई ‘हिंसा’ भनेको विषयमा प्रचण्डले आफूले कुनै टिप्पणी गर्न नचाहने बताए । समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताको विषयमा छलफल भइरहेको पनि बताए । ‘अहिले हामी समाजवादी मोर्चामा छौँ, एकताको विषयमा पनि छलफल चलिरहेकै छ,’ प्रचण्डले भने, ‘यद्यपि अहिलेसम्म एकताको कुराले ठोस् आकार ग्रहण गरिसकेको अवस्था छैन ।’

मङ्गलबार २९ माघ २०८१ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया