×

जेनजी आन्दोलन जाँचबुझ आयोग- सशस्त्र प्रहरीका आईजी अर्यालको आजदेखि

images

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।यसअघि मंसिर १७ देखि सुरु गरिएको काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान पूरा भएको छ ।

आजदेखि सशस्त्र प्रहरीका आईजी अर्यालको बयान लिइने आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले  बताए । उनले भने, ‘आज उहाँलाई बोलाएका छौँ ।’ गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइएको छ । अर्यालको बयान पूरा भएसँगै नेपाल प्रहरीका आईजीपी कार्की र पूर्व आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिने तयारी गरिएको आयोगका एकजना पदाधिकारीले बताए ।

आयोगले यसअघि प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाह सहितका अधिकृतहरुसँग बयान लिएको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।

आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्दसँग बयान लिइसकेको छ । हालसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइएको आयोगका एकजना सदस्यले  बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको बहालवाला नेतृत्वसँग हामीले बयान लिइसकेका छैनौँ, अब बल्ल थाल्ने हो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसलगत्तै तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ ।’

मङ्गलबार २४ मंसिर २०८२ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया