×

देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्- बालेन

images

काठमाडौं ।  गौशाला धर्मशाला खाली गर्न पुगेको काठमाडौं महानगर प्रहरी बल र मारवाडी सेवा समितिबीच धकेलाधकेल भएको छ । महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती आफ्नो बोर्ड राखेको थियो । सो क्रममा नगर प्रहरी र मारवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो । 

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई नि:शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ । तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए भने बालेनले प्रहरीले पनि उनीहरूलाई नै साथ दिएको आरोप लगाएका हुन् । 

उनले भनेका छन्-

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ नि: सुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ। अनि हामी चाहिँ देश प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौं।

बुधबार २३ असोज २०८१ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया