असोज २४ । काठमाडौंका क्लबमा बालिकाहरूलाई प्रवेश गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२४, धापाखेलका ३१ वर्षीय सनिप महर्जन र सुर्खेत घर भई ढोलाहिटी बस्ने २९ वर्षीय सन्देश थापा पक्राउ परेका हुन् ।
उनीहरूलाई ठमेलका डान्सबार, क्लबलगायत मनोरञ्जनका स्थानहरूमा उमेर नपुगेका बालबालिकाहरूलाई प्रवेश तथा काममा लगाइएको आरोपमा मंगलबार पक्राउ गरिएको हो।
रात्रिकालीन मनोरञ्जनको क्षेत्रमा बालबालिकाहरूलाई काममा लगाइएको साथै प्रवेश गर्न दिइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनीहरूमाथि बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिम कसुर गरेको अभियोग छ । क्लबहरूबाट बालिकाहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया