×

पहिरोले देश जोड्ने सडक सञ्जाल क्षतविक्षत: कतै एकतर्फी खुल्यो, कतै सवारी सञ्चालनमै प्रतिबन्ध

images

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य प्रदेशहरू जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज (बुधवार) बिहान ६:३० बजेसम्मको पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न विशेष अनुरोध गरेको छ। 

नेपाल प्रहरीका अनुसार वर्षा र पहिरोका कारण अवरुद्ध भएका केही सडक खण्डहरूलाई पन्छाएर एकतर्फी खुलाइएको भए पनि मुख्य राजमार्गहरूमा अझै पनि जोखिम कायमै रहेको छ।

पृथ्वी र काठमाडौँ जोड्ने सडक एकतर्फी सुचारु
अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी नगरपालिका-२ स्थित चिसापानी खण्ड अहिले पन्छाएर एकतर्फी सुचारु गरिएको छ। यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० ज्वाङखोलागजुरी गाउँपालिका-२ चालिसे खण्डमा खसेको पहिरो हटाई यातायातलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

बिपी राजमार्ग र रसुवा-नुवाकोट खण्डमा उच्च जोखिम
यता, सिन्धुलीको बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा पहिरोको जोखिम उच्च रहेकाले हाल सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सो क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको स्थलगत मूल्यांकन गरेर मात्र सवारी साधन छाडिने नीति प्रहरीले लिएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा आएको बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन पहिरोको जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रहरीको आग्रह: बुझेर मात्र यात्रामा निस्कौँ
बाढी र पहिरोका कारण देशका अन्य थुप्रै सहायक तथा मुख्य राजमार्गहरू समेत प्रभावित भएका छन्। नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा फोन गरेर सडकको ताजा अवस्था बुझेर मात्र घरबाट निस्कन आम यात्रुहरूमा हार्दिक आग्रह गरेको छ।

बुधबार २४ भदौ २०८३ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया