×

कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

images

काठमाडौं ।  ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

एनसीबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको हो । मितेरी सहकारी ठगीबारे अनुसन्धान गरिरहेको सीआईबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।

प्रहरीका अनुसार उनीहरू विदेशमा भएको आशंकासहित इन्टरपोलमार्फत खोजी गर्ने प्रक्रिया अघि बढाइएको हो । गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ । 

गुरुङ र बर्दिया घर भएका भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ । उनले गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरु बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ ।

शुक्रबार​ २३ कात्तिक २०८१ ०६:३१ PM मा प्रकाशित

प्रतिक्रिया