जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । “बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उहाँले भन्नुभयो, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।”
जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताउनुभयो । “हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उहाँले भन्नुभयो, “साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताउनुभयो । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया